यो पटक थोरै बोल्ने, धेरै गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री-Sutra News

यो पटक थोरै बोल्ने, धेरै गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री

आइतबार, ७ जेष्ठ २०८०

आइतबार, ७ जेष्ठ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यस पटकको कार्यकालमा थोरै बोलेर धेरै गर्ने सङ्कल्पका साथ आफूले काम गरिरहेको बताएका छन् । राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा काठमाडौंको नाँचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।



प्रधानमन्त्री प्रचण्डले भने,“म अहिले धेरै बोल्दिन म प्रधानमन्त्री जस्तो भएर बोल्नुपर्ने हुन्छ । मैले बोल्ने भाषा विप्लव जीले बाहिरबाट बोलिरहनुभएको छ । यो पटक म भन्न चाहिँ थोरै भन्ने काम चाहिँ धेरै गर्ने सङ्कल्प लिएको छु । मैले प्रधानमन्त्री भएको दिन देखि त्यो गरिरहेको छु ।”

आफू प्रधानमन्त्री भएपछि पहिलो पटक बेपत्ता योद्धाहरूको नाम लेखिएको शिलालेख उद्घाटन गरेर जनयुद्धका योद्धा र बेपत्ता योद्धाहरूको पक्षमा काम सुरु गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

पहिलो पटक प्रधानमन्त्री हुँदाको निर्णय खोजेर राजपत्रमा प्रकाशित गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा मारिएका योद्धाहरूलाई हल्ला नागरिक राष्ट्रिय शहीद घोषणा गरेको बताए । साथै, विभिन्न विरोधका बाबजुद पनि आफूले पुनः हल्ला नगरीकनै जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरेको बताए ।

२०७१ मा भएको निर्णय अनुसार आफूले सरकार प्रमुखको हैसियतले जनयुद्धका योद्धाहरूलाई दुई लाख दिन गरेको निर्णयको अनावश्यक विरोध भएको बताउँदै सो विषयमा सर्वोच्च अदालतले पुनः राहत दिने बाटो खोल्ने छ भन्ने विश्वास व्यक्त गरे ।

मन्तव्यका क्रममा प्रधानमन्त्री प्रचण्डले बेपत्ता योद्धाहरूको छानबिनको कुरा र शान्ति प्रक्रियाको काम अन्तिम चरणमा रहेको जानकारी दिए । सङ्क्रमणकालीन न्यायको विषयमा सत्ता गठबन्धनमा राम्रो बुझाई रहेको समेत बताए । साथै, विपक्षका दलका नेताहरू पनि कोलम्बियाको भ्रमण गरेर त्यहाँ द्धन्द्धलाई शान्तिका कसरी परिणत गरिएको थियो भन्ने सिकेर आएको बताउँदै सो सिकाईका आधारमा पनि नेपालको शान्ति प्रक्रियाका बाँकी काम छिट्टै टुङ्ग्याउने गरी सरकार लागेको बताए ।

संसद्मा रहेका सबै दलसँग सहमति गरी समिति तथा उपसमितिहरू बनाएर छलफल भइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सो प्रक्रिया दुई वर्षभित्र टुङ्ग्याउने गरी आफू लागेको बताए ।

शान्ति प्रक्रियाको काम निकै ढिलो भएको भन्दै अब बेपत्ताहरूलाई जिउँदो रूपमा पाउन मुस्किल हुने कुरामा सबैले चित्त बुझाउनुपर्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले बेपत्ता योद्धाहरूलाई शहीद घोषणा गरेर परिवारलाई परिपूरणको व्यवस्था गर्न उचित हुने तर्फ आफ्नो ध्यान गएको बताए।

डण्डपानी न्यौपाने लगायतका बेपत्ता योद्धाहरूको अवस्थाबारे जनयुद्ध कालमै मानवअधिकार कर्मीहरूले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसँग बुझ्न खोज्दा उहाँहरू पहिल्यै मरिसक्नु भयो भनेको र आफूहरूले सो कुरो अस्वीकार गरेको स्मरणसमेत गरे । अब समय धेरै घर्किसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले बेपत्ता आफन्तहरू सम्झेर सधैं बेचैनीमा बस्न नसकिने बताए ।

विप्लवले राखेको विषयवस्तुले आफूलाई खुसी लागेको प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डले भने. “विप्लवले पछिल्लो समय मलाई अप्ठ्यारो पर्दा विशेष परिस्थितिमा वस्तुवादी र परिपक्व हुँदै आफ्नै पार्टीका नेताहरूले भन्दा पनि रचनात्मक ढङ्गले सहयोग र सुझाव दिँदै आउनु भएको छ । यसको निम्ति उहाँ र उहाँको पार्टीका साथीहरूलाई धन्यवाद दिन चाहन्छु । ”

विप्लवले मन्तव्यको क्रममा “सरकारमा बसेर तपाई अगाडि बढ्नुस् हामी सडकमा बसेर सहयोग गर्न तयार छौं ।” भनेको कुरालाई सम्झँदै प्रधानमन्त्री प्रचण्डले अब माओवादीका धाराहरू नयाँ आन्दोलनको सहयात्री हुने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विप्लव, एमाले नेता प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका नेता तथा सचेतक रमेश लेखक, नेपाल समाजवादीकी नेतृ हिसिला यमी, आम जनता पार्टीका उपाध्यक्ष तिलक थापा लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट