नीति तथा कार्यक्रमको पुनर्लेखन गर्नुपर्छ : लिङ्देन-Sutra News

नीति तथा कार्यक्रमको पुनर्लेखन गर्नुपर्छ : लिङ्देन

सोमबार, ८ जेष्ठ २०८०

सोमबार, ८ जेष्ठ २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रमले वर्तमान आर्थिक सङ्कटको समाधान गर्न नसक्ने टिप्पणी गरेका छन् ।



प्रतिनिधिसभामा सरकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले नीति तथा कार्यक्रममा सरकारले देशलाई कुन बाटोबाट अगाडि लैजाँदैछ भन्ने मार्गचित्र हुनुपर्ने बताए । अहिले देशको अवस्था सामान्य नरहेको र देशले आर्थिक सङ्कट भोगिरहेको अवस्थामा नीति तथा कार्यक्रममा यसको कसरी सामना गर्ने भन्ने समाधानका उपाय हुनुपर्ने सांसद लिङ्देनले उल्लेख गरे ।

नीति कार्यक्रममा समस्या पहिचान र प्राथमिकता प्रस्ट छुट्याउन नसकेको उल्लेख गर्दै सांसद लिङ्देनले कतिपय विषयमा विरोधाभास रहेको बताए । रोजगारमूलक उद्योग खोल्ने, बिजुली सहुलियतमा दिने, दलले शेयर नखोज्ने, युनियनबाजी नहुनेजस्ता ग्यारेन्टी गर्न सके उद्योग सञ्चालन गर्नेलाई प्रोत्साहन मिल्ने उनको भनाइ थियो । सरकारले छलफलमा उठेको विषयलाई समेटेर पुनर्लेखन गर्न नहिच्किचाउन आग्रह गरे ।

पर्यटनको पूर्वीय दर्शनको उद्गम थलो नेपाल भएको र बुद्ध तथा हिन्दुत्वको सरकारी तवरबाटै विकास गर्नुपर्ने सुझाव दिँदै सांसद लिङ्देनले पर्यटनको कुरालाई जोड्दा धार्मिक पर्यटनलाई बिर्सनु नहुनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट