कोभिड – १९ को विश्वव्यापी महामरी पछि विश्वमा डिजिटल कारोबार उल्लेख्य रूपमा वृद्धि भयो । नेपाल पनि अछुतो रहने कुरै भएन । जनजीविकाकै एक अभिन्न अंग बनिरहेको डिजिटल कारोबारसँगै जोखिम पनि उत्तिकै बढेको छ ।
नेपाल राष्ट्र बैंकले ‘क’ वर्गको मान्यता प्रदान गरेका बैंकबाटै सेवाग्राहीको रकम हराउन वा चोरिन थालेको छ । त्यो पनि बैंककै कर्मचारीको संलग्नतामा । पहिलो एनआईसी एसिया बैंकको नाम मात्रै सुनिने यस्तो प्रक्ररणमा अब माछापुच्छ्रे, नविल र एभरेष्ट बैंक पनि थपिएका छन् ।
अर्कोतिर नेपालका बैंकहरूको कर्जा प्रणाली त तत्कालीन किष्ट बैंकको पुलमुनिको जग्गा देखि कामना सेवा विकास बैंकको प्रदेश १ को पछिल्लो प्रकरणलाई हेर्ने हो भने सबै तथ्य छर्लङ्ग हुन्छ । पछिल्लो सार्वजनिक विवरण अनुसार चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित पूर्व-पश्चिम लोकमार्गमै अवस्थित माछापुच्छ्रे बैंकबाट ९ लाख रुपैयाँ गायव भयो ।
आइतबार चेक साट्न बैंक पुगेका सेवाग्राहीलाई बल्ल थाहा भयो कि उनको खातामा रहेको पैसा गायब भैसकेको छ । अघिल्लो दिनसम्म आफ्नो खातामा १२ लाख २० हजार रुपैयाँ रहेकोमा भोलिपल्ट ९ लाख गायब !
यो भन्दा आश्चर्यजनक कुरा त बैंकले सेवाग्राहीप्रति गरेको व्यवहार थियो ।
आफ्नो खाताबाट ९ लाख गायब भएकोबारे जब उनले बैंकका शाखा प्रमुख रामजी दासलाई भेटेर पैसा कसरी गायब भयो भन्ने प्रश्न राखे । शाखा प्रमुख दासले ह्याकरले पैसा लगेको हुनसक्ने अनुमान गरेर आफूले केही गर्न नसक्ने जवाफ दिदैं तपाईंले आफैं पत्ता लगाउनु भन्ने जवाफ दिए ।
एकातिर सरकार डिजिटल कारोबार बढाउने घोषणा गरेर थाकेको छैन अनि अर्कोतिर ‘अझ सबल, उत्कृष्ट एवं विस्तारित’ स्लोगन राखेको नेपालको ‘क’ वर्गको बैंकको सेवाग्राही प्रतिको व्यवहार यति गजबको छ । अनि हामी आर्थिक संकट र तरलता अभावको नारा पछिल्लो २ वर्षदेखि भट्याउँदै छौं ।
आफ्नै खातामा रहेको पैसा फिर्ता पाउन ती सेवाग्राहीले आइतबार राति माछापुच्छ्रे बैंकको उक्त शाखा कार्यालय घेराउ गरेर आफ्नै पैसा फिर्ता मागिरहेका छन् भने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले माछापुच्छ्रे बैंकको उक्त खाताबाट गायब भएको रकमबारे अनुसन्धान भैरहेको जानकारी दिएका छन् ।
अब कहिले अनुसन्धान सकिने अनि ती सेवाग्राहीले कहिले पैसा फिर्ता पाउने हुन् अहिलेसम्म टुंगो लागेको छैन । अब तपाईं आफैं विचार गर्नुस् त आफ्नै पैसा फिर्ता लिन आन्दोलन गर्नुपर्ने गरि पैसा बैंकमा जम्मा गर्न तपाईं तयार हुनुहुन्छ र ?
यसअघि सेवाग्राहीहरूले बैंकमा राखेको डेढ करोड रुपैयाँ चोरी गरेको अभियोगमा एभरेष्ट बैंक इटहरी शाखाका प्रवन्ध सहित नौ जना कर्मचारीको संलग्नतामा पक्राउ परे ।
सेवाग्राहीको कनेक्ट आइपिएसको आईडी र पासवर्ड चोरी गरेर बैंकिङ सिस्टमबाट निष्क्रिय खातामा पैसा पठाई नक्कली चेक प्रयोग गरी रकम निकाल्ने तथा अन्य बैंकको खातामा पठाउने गरेको अनुसन्धानबाट खुलिसकेको छ ।
आफ्नै बैंकमा कार्यरत कर्मचारीले गरेको पुष्टि भैसकेपछि एभरेष्ट बैंकले हिनामिना भएको रकम सम्बन्धित ग्राहकको खातामा जम्मा गरेको भन्दै सूचना नै निकालेको छ ।
गत वर्षको चैत तिरकै घटना भएपनि अहिले मिडियामा सार्वजनिक भएपछि मात्रै बैंकले सूचना निकालेर प्रष्टिकरण दिएको हो ।
यत्रो समय बैंक मौन रहँदा यो घटनालाई भित्र भित्रै मिलाउने सक्दो प्रयास गर्दागर्दै पनि अहिले नसकेपछि मात्रै सार्वजनिक भएको हो भनेर मान्न त पक्कै सकिएला नि हैन र ?
आफूलाई कर्पोरेट कल्चर भएको एक नम्बर बैंक दाबी गर्ने नविल बैंक पनि यो प्रकरणबाट अछुतो छैन । नविल बैंकको धरान शाखाबाट ग्राहकको रकम हराएको घटना सोमबार सार्वजनिक भएको हो ।
नविल बैंकको धरान शाखाबाट ६६ हजार ३ सय ५० रुपैयाँ हराएको भन्दै निवेदन दिएपछि त्यो प्रकरण सार्वजनिक भएको हो ।
यस्तै धरानकै अर्का सेवाग्राहीले पनि आफ्नो खाताबाट ८० हजार रुपैयाँ चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन्, त्यसको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
आफूले दु:ख गरेर कमाएको पैसा सुरक्षीत राख्न वचत गरिने बैंक नै असुरक्षित बन्दै गएपछि हरेकले बैंकमा पैसा राख्न अघि पटकपटक सोच्नुपर्ने अवस्था सिर्जना भएको छ ।
सहकारीले ठगी गर्ने गरेको कुरा त अब हाम्रा लागि नौलो रहेन नै ‘क’ वर्गका बैंकसमेत असुरक्षित बन्दै गएपछि अब तपाईं हामीले पनि बैंकमा पैसा राख्नु अगाडि एकपटक सोच्ने कि ?