स्थानीय तहको दोस्रो निर्वाचन भई जिम्मेवारी सम्हालेका एक वर्ष पूरा भएको छ । अहिले निर्वाचित जनप्रतिनिधिले एक वर्षे कार्यकाल पूरा गरिसकेका छन् तर निर्वाचनका बेलामा नागरिकमा बाँडिएका आश्वासन पूरा नगरेको र जनताको जनभावनाअनुसार काम गर्न नसकेको स्थानीयवासीको गुनासो छ ।
नागरिक विश्वस्त हुने गरी जनप्रतिनिधिले काम गर्न नसकेको भन्दै विगतका र अहिलेका नेतृत्वले गरेको कामको तुलना गर्दा खासै फरक नभएको आवाज पनि उठ्न थालेको छ ।
स्थानीय तहको नेतृत्व गरिरहेका जनप्रतिनिधि भने आफ्नो कार्यकालको पहिलो वर्षमा थुप्रै काम गर्न सफल भएको बताउँदै आएका छन् । टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले भने नागरिकको जनभावनाअनुसार काम गर्न नसकिएको बताएका छन् । उनले केही राम्रा कामको सुरुवात भए पनि नागरिकले तत्काल नतिजा खोज्दा त्यस्तो हुन पुगेको चर्चा गरे ।
“सुरुवाती चरणमा छौँ । धेरै कुराको तालमेल नमिल्दा पनि महसुस हुने गरी कामको नतिजा एकै वर्षमा देखाउन सकिएको छैन ।” नगर प्रमुखले थारु भने, “स्थानीय तहसँग सङ्घ र प्रदेशको तालमेल नमिल्दा पनि समस्या भएको छ । हामी वैशाखमा सबै काम सम्पन्न गर्ने योजनामा हुन्छौं तर प्रदेश र सङ्घका योजनाको प्रक्रिया वैशाखमा सुरु हुन्छ । अनि कसरी फलदायी काम हुनसक्छ ?”
भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले नगरपालिकामा एक वर्षमा थुप्रै काम भएको जिकिर गरे । जनताको चाहनाअनुसार आफू निर्वाचनको समयमा बोलेका कुरालाई पूरा उन्मुख भएको उनको भनाइ थियो ।
“नागरिकहरूका अपेक्षा धेरै भएको तर हाम्रा स्रोतसाधनको सीमितताले पक्कै पनि नागरिकको अपेक्षाअनुसार काम नभएको हुनसक्छ ।” नगर प्रमुख चौधरीले भने, “तर हाम्रा तर्फबाट थुप्रै कामको सुरुवात गरिएको छ । त्यसको परिणाम अहिले नै देखिने स्थिति नभए पनि बाँकी चार वर्षमा नागरिकलाई महसुस हुने गरी कामको थालनी भएको छ ।”
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले अहिले नै कामको मूल्याङ्कन गरिहाल्नुपर्ने स्थिति नभइसकेको बताए । उनले पहिलो वर्षमा नागरिकका माझमा कबुल गरिएका विषयको जग बसाल्न सफल भएको बताए । अध्यक्ष चौधरीले कुनै पनि काम गर्न सहज नहुने तर चुनौतीलाई सामना गरी योजनालाई सफल बनाउन गाउँपालिका क्रियाशील भएर लागेको बताए ।
जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले अहिले नै नतिजा खोज्ने समय नभए पनि एक वर्षमा गरिएका कामको उपलब्धिले जनतामा विश्वास बढाएको बताए । उनले पनि गरिएका कामको नतिजा आई नसकेको बताए ।
“नागरिक सन्तुष्ट हुने गरी हाम्रा कार्य अगाडि बढेका छन् । नागरिकलाई त्यसको अनुभूति हुने समय भने भइसकेको छैन ।” अध्यक्ष चौधरीले भने, “अनुभूति गराउन समय लाग्छ । हाम्रो कार्यकालमा हामीले बोलेका मूलभूत कुरालाई पूरा गर्छौं ।’’
प्रतिक्रिया दिनुहोस्