निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’को सोमबारबाट छायांकन सुरु गरिएको छ ।
काठमाडौंस्थित बुढानिलकण्ठ मन्दिरमा सिनेमाको मुहूर्त गर्दै उनले काभ्रेबाट छायांकन सुरु गरेका छन् ।
यही सिनेमाबाट निर्देशक बस्नेत ६ वर्षपछि निर्देशनमा फर्किएका हुन् ।
कार्तिक २४ गतेलाई आफ्नो रिलिज मिति तोकेको सिनेमाको पटकथा आकाश बरालले लेखेका हुन।
सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का र विजय बरालको मुख्य भूमिका छ।
ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुने सिनेमामा निमेष श्रेष्ठको सम्पादन, सुसन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ ।
सिनेमाको निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् ।
‘लुट २’ पछि निश्चल निर्देशनमा फर्किन नखोजेका होइनन् । लकडाउन पछाडी उनी सिनेमा ‘जिन्दावाद’ निर्देशनको तयारीमा थिए ।
‘दिमाग खराब’ भने निश्चलले आफ्नो दोस्रो सिनेमा ‘टलकजंग भर्सेस टुल्के’ पछि घोषणा गरेका थिए ।
घोषणाको ९ वर्षपछि यो सिनेमा निर्माण हुन लागेको हो ।
निर्देशक बस्नेत र अभिनेत्री खड्काले यसअघि आधा दर्जन बढी म्यूजिक भिडियो र सिनेमा ‘घामड शेरे’मा एकसाथ अभिनय गरेका थिए ।