जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकार विस्तार गरिएको छ ।
नेकपा एमाले सरकारबाट बाहिरिएको डेढ महिनापछि आज नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)सहित सरकार विस्तार गरिएको हो ।
मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा कांग्रेसबाट प्रदेश संसदीय दलका नेता कृष्ण यादव र वीरेन्द्रप्रसाद सिंह तथा एकीकृत समाजवादीबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने सरकारमा नयाँ जिम्मेवारीसहित सहभागी हुनुभयो ।
कांग्रेसका यादव भौतिक पूर्वाधार तथा विकास, सिंह स्वास्थ्य तथा जनसङ्ख्या र समाजवादीका न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
आज मधेश भवनमा आयोजित एक विशेष समारोहमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष तीनै जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभयो ।
केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएसँगै गत चैत २१ गते नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको थियो ।
मधेश प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँच जनाले मुख्यमन्त्री यादवसमक्ष सामूहिक राजीनामा दिएका थिए ।