मेटालाई १ अर्ब ३० करोड डलर जरिवाना-Sutra News

मेटालाई १ अर्ब ३० करोड डलर जरिवाना

मंगलबार, ९ जेष्ठ २०८०

मंगलबार, ९ जेष्ठ २०८०

युरोप र अमेरिकाबीचमा मानिसहरूको डेटा ट्रान्सफर गर्दा गलत प्रयोग गरेकामा फेसबुकको मालिक मेटालाई १ अर्ब ३० करोड डलर बराबर जरिवाना गरिएको छ । बिबिसीका अनुसार आयरल्यान्डको डेटा संरक्षण आयोग (डिपिटी) द्वारा जारी सूचनामा युरोपियन युनियन (इयू) को सामान्य डेटा संरक्षण नियमन गोपनीयता कानुनअन्तर्गत यो जरिवाना सर्वाधिक ठूलो भएको बताइएको छ ।



यस निर्णयको मुख्य आधारमा युरोपेली संघ डेटालाई अमेरिकामा स्थानान्तरण गर्न मानक अनुबन्ध खण्डहरू (एससिसी) को प्रयोग हो । युरोपेली आयोगले तयार पारेका यी कानुनी सम्झौताले युरोपबाहिर डेटा स्थानान्तरण गर्दा व्यक्तिगत डेटा सुरक्षित गर्ने कुरा सुनिश्चित गर्छ । यद्यपि, चिन्ताको विषय भनेको डेटा प्रवाहले अझै पनि युरोपेलीलाई अमेरिकाको कमजोर गोपनीयता कानुनको पर्दाफास गर्छ र अमेरिकी गुप्तचरले डेटामा पहुँच राख्न सक्छन् भन्ने हो। तर यो निर्णयले बेलायतमा फेसबुकलाई कुनै असर गर्ने छैन।

विश्वमा धेरैजसो ठूला कम्पनीसँग विदेशी प्राप्त कर्ताका लागि डेटा ट्रान्सफरको जटिल जालो छ । जसमा इमेल ठेगाना, फोन नम्बर र आर्थिक विवरण समावेश हुन सक्छन् । यीमध्ये कैयौँ एससिसी मा निर्भर छन् । त्यसको व्यापक प्रयोगले जरिवानालाई अनुचित बनाउने मेटाको भनाइ छ।

फेसबुकका अध्यक्ष निक क्लेगल भन्छन्, ‘यस कारण हामी युरोपमा सेवा प्रदान गर्न इच्छुक हजारौं कम्पनीले झैं समान कानुनी संयन्त्रको प्रयोग गरिरहँदा एक्लो भएका छौं । यो एक्लाइले दुःखी बनाएको छ ।’

निकका अनुसार यो निर्णय त्रुटिपूर्ण र अनुचित छ । युरोपियन युनियन र अमेरिकाबीच डेटा स्थानान्तरण गर्ने अनगिन्ती कम्पनीका लागि यो खतरनाक उदाहरण हो । तर गोपनीयता समूहले भने उक्त निर्णयको स्वागत गरेका छन् । इन्टरनेसन एसोसिएसन अफ प्राइभेसी प्रोफेसनलका केटलिन फेनेसी भन्छिन्, ‘यो रेकर्ड तोड्ने जरिवानाको आकार यसले पठाएको संकेतको महत्त्वसँग मेल खान जान्छ। यसले कम्पनीमाथि जोखिम छ भन्ने देखाउँछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट