बुटवल उपमहानगरपालिकाले एक वर्षका उपलब्धि सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले गत स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले पदभार ग्रहण गरेको जेठ ९ गतेदेखि १ वर्षका उपलब्धि आज सार्वजनिक गरेको हो ।
नगर प्रमुख खेलराज पाण्डेयले उपलब्धि तथा प्रयास सार्वजनिक गर्दै पदभार ग्रहण गरेदेखि बुटवल र बुटवलवासीको हितमा नीति निर्माण, बजेट निर्माण र कार्यान्वयन तथा सङ्घ, प्रदेश सरकार, विभिन्न सरकारी कार्यालय, सामाजिक सङ्घसंस्थासँग सहकार्य र समन्वय गरी काम गर्दै आएको बताए ।
उनले एक वर्षमा बुटवलका सबै क्षेत्र र समुदायलाई समेटेर अगाडि बढ्ने र सबैलाई बुटवल उपमहानगरपालिकाप्रति अपनत्व महशुस गराउने उद्देश्यका काम गरिएको बताए । उनले नगरवासीसँग प्रत्यक्ष भेटघाट र संवाद गरी क्षेत्रगत सुझाव सङ्कलन गरेको र त्यसकै आधारमा योजना निर्माण र कार्यान्वयन गर्दै जाने बताए ।
नगर प्रमुख पाण्डेले बुटवलका मुख्य चुनौतीका रूपमा देखिएका ज्योति नगर–लक्ष्मीनगर, पाखापानी क्षेत्रको पहिरो, तिनाउ नदी कटान, अव्यवस्थित बसोबास, भूमिहीन, सुकुम्वासी समस्या, छाडा चौपाया व्यवस्थापन, ट्राफिक व्यवस्थापनजस्ता विषयमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार तथा स्थानीय सरोकारवालासँग पटक पटक छलफल गरी समाधानका लागि अगुवाइ गरिरहेको बताए ।
कार्यक्रममा सार्वजनिक उपलब्धि तथा प्रयासमा बुटवल १३ र १७ मा १५/१५ शय्याका अक्सिजनसहितका दुई अस्पताल निर्माण सम्पन्न हुने चरणमा रहेको र चालु आर्थिक वर्षभित्रै उद्घाटन गरी आगामी साउनदेखि नै सञ्चालनमा आउने उनले बताए ।
बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि इआइए भइरहेको, नगरको मुख्य राजमार्ग, बस टर्मिनल, सुखौरा खोला, १६–३६ नहर, कालिका पथलगायतका सार्वजनिक स्थानको नियमित तथा विशेष सरसफाइ अभियान सञ्चालन गरिएको बताए ।
कार्यक्रममा बुटवल ३ र ४ का ज्योति नगर–लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेत्रमा पर्खाल, कल्भर्ट, जाली र वृक्षारोपण गरी सुरक्षित बनाउने, ज्योतिनगरका पहिरो क्षेत्रका जोखिमयुक्त घरहरूको प्रकोप व्यवस्थापन कोषबाट बीमा गर्ने प्रमुख पाण्डेयले बताए ।
त्यसैगरी, सडक क्षेत्रमा अव्यवस्थित रूपमा रहेका विद्युत्, इन्टरनेट, केवलका तारले सहरको सौन्दर्य बिगारेका कारण व्यवस्थित गर्ने काम निरन्तर सञ्चालन भइरहेको, चार प्रकारका जटिल रोग मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात भएका एक सय ९० जना बिरामीलाई मासिक पाँच हजार, जटिल रोग अनुदान सहयोग कार्यक्रमअन्तर्गत १४५ जनालाई प्रतिबिरामी १७ हजार बिरामीकै बैंक खातामा उपलब्ध गराइएको उपलब्धिमा समेटिएको छ ।