काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा सांसद उपेन्द्र यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने उल्लेख गरेका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले प्रतिनिधिसभामा बुधबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै आयोगको काम नभएको बताएका हुन् । उनका अनुसार आयोगले प्रधानमन्त्रीको सल्लाहकारको रूपमा मात्र काम गरेको भन्दै खारेज गर्दा फरक नपर्ने बताएका हुन् ।
‘देशमा राष्ट्रिय योजना आयोग भन्ने छ । वास्तवमा त्यसको कामै छैन । खारेज गरिदिए हुन्छ । बरु त्यसलाई प्रधानमन्त्रीको अर्थ सल्लाहकार बनाए हुन्छ ।’ उनले भने ।
साथै प्रदेश र स्थानीय सरकारलाई नियन्त्रण गर्न खोज्ने कार्य संघीयताको मूल मर्म र भावनाविपरीत रहेको भन्दै उनले प्रदेश र स्थानीय तह संघका पार्टनर रहेका, तर इकाइ नभएका बताए ।
जसअनुसार नीति तथा कार्यक्रमले संघीयता विरोधी भाग बोक्ने काम गरेको यादवको भनाइ छ । संघको नाम पहिचानको आधारमा राख्नुपर्ने भन्दै उनले प्रदेशलाई प्रहरी हस्तान्तरण पनि गर्नुपर्नेमा जोड दिए ।
संविधानप्रदत्त अधिकार प्रदेश र स्थानीय तहलाई उपयोग गर्न दिन नीति तथा कार्यक्रमले केही नसमेटिएको भन्दै अध्यक्ष यादवले आपत्ति जनाए ।