काठमाडौं । राजनीतिक आस्थाको आधारमा आरोप लगाउनु र संरक्षण गर्नु नेपाली राजनीतिमा नयाँ रोग होइन । यो रोग नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि छर्लङ्गै देखिएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले गत वैशाख २४ गतेमात्र सो प्रकरणमा मुछिएका कांग्रेसका प्रभावशाली नेताहरूमाथि कारबाही हुनुपर्ने बताएका थिए । कास्कीको पोखरामा उनले भनेका थिए, ‘सबै ठुला माछा समाउनुपर्छ । ह्वेल माछा जोगाएर भुरा माछा समात्ने काम गर्नुहुँदैन ।’
नेता बस्नेतले पूर्व प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले साढे २ करोड र पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणले ६ करोड रुपैयाँ लिएको अडियो आफूहरूले सार्वजनिक गरेको बताउँदै कसैलाई नछोड्नुपर्ने बताएका थिए ।
तर नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार केशव दुलालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य स्वकीय सचिव राजेश बज्राचार्य र पूर्वसल्लाहकार डा.अजय क्रान्ति शाक्यले एक/एक करोड रुपैयाँ दिएको बयान दिएपछि महेश बस्नेतको स्टाटसले रङ्ग फेरेको छ ।
दुलालको बयान मंगलबार सञ्चारमाध्यममा बाहिरिएपछि नेकपा एमालेका केन्द्रीय सदस्य बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई ‘जबरजस्ती’जोडेको आरोप लगाए ।
भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमालेलाई बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएका हुन् । उनले १६ बुँदे स्टाटस लेख्दै प्रतिवाद गरिने जनाएका छन् ।
त्यस्तै, राष्ट्रियसभाका सदस्य देवेन्द्र दाहालको पनि धारणा फेरिएको छ । उनले वैशाख २४ मै गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पुर्जि जारी हुन नसकेको हो ? भन्दै सरकारलाई प्रश्न राष्ट्रिय सभाको बैठकमै गरेका थिए ।
नेकपा एमालेका अध्यक्षका पूर्वसल्लाहकार र प्रमुख स्वकीय सचिवको नाम जोडिएर अभियुक्तको बयान बाहिरिएपछि ‘टार्गेट गरेर जानी जानी तानिएको गन्ध आइरहेको’ बताएका छन् । शुत्रन्युजसँगको कुराकानी निष्पक्ष अनुसन्धान हुनुपर्नेमा सत्ताको आडमा निष्पक्षको नभएको उनको आरोप छ ।