काठमाडौं । आगलागीको घटनापछि स्वास्थ्य लाभ गर्दै गरेका कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले आफ्नो उपचारमा सहयोग गरेकोमा सम्मान व्यक्त गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग गर्न आग्रह गरेका छन् ।
गत पुस ३ गते एलपी ग्याँस विस्फोटबाट भएको आगलागीमा परेर भारतमा उपचार गरेका भण्डारीले उपचारपछि बुधबार पहिलो पटक प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस् भनेका हुन् ।
‘म कीर्तिपुरबाट जाँदा निदाएको थिएँ । बम्बईमा सात दिनपछि ब्युँझिएँ । ब्युँझँदा धेरै साथीहरूले सहयोग गरेको पाएँ, त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस्,’ उनले संसदमा भने ।
आफूले बेहोरेका घटनाबाट गत वर्ष ११० जनाले मृत्युवरण गरेका र अहिलेको वर्षमा आफ्नी आमा थपिँदा १११ जना पुगेको बताउँदै उनले गाउँ गाउँमा पुगेको बिजुली र ग्याँसको प्रयोगबारे पाठ्यक्रममा समावेश गरिनुपर्ने बताए ।