सांसदहरूले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिका साथ कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनीहरूले सरकारले सबै क्षेत्रलाई समेटेर जनतामुखी कार्यक्रम ल्याएको हुँदा यसलाई प्रभावकारी कार्यान्वयन लैजानुपर्छ भने ।
छलफलमा भाग लिँदै सांसद सूर्यमान दोङले नीति तथा कार्यक्रममार्फत सरकारले जनमुखी र यथार्थपरक कार्यक्रम ल्याएको हुँदा यसलाई राष्ट्रिय सहमतिका साथ पारित गरेर कार्यान्वयनमा लैजानुपर्छ भने । सांसद शङ्कर भण्डारीले मुलुक अप्ठ्यारो अवस्थामा रहेकाले पुनः एक पटक राष्ट्रिय सहमति, सहकार्य र सद्भावका साथ अघि बढ्नुपर्ने खाँचो औंल्याए ।
सांसद मङ्गलप्रसाद गुप्ताले कृषि उत्पादन प्रवर्द्धन र किसानलाई प्रोत्साहित गर्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए । सांसद हितबहादुर तामाङले अहिलेको नीति तथा कार्यक्रम सबैले गौरव गर्न लायक रहेको जनाउँदै समर्थन जनाए ।
सांसद ईश्वरीदेवी न्यौपाने जनताको आवश्यकतालाई प्राथमिकता दिएर देशको आर्थिक समृद्धिलाई अघि बढाउने गरी नीति तथा कार्यक्रम आएको जनाउँदै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
सांसद सुनिता बरालले जटिल रूपमा रहेको अर्थतन्त्रलाई सुधार गरी हालको आवश्यकतालाई ध्यान दिएर नीति तथा कार्यक्रम अघि बढाइनुपर्नेमा जोड दिए । सांसद लेखनाथ दाहालले नीति तथा कार्यक्रम सरल व्यावहारिक र वस्तुवादी रहेको जनाउँदै अहिले उठाइएको विषयलाई आगामी बजेटमा समावेश हुने विश्वास व्यक्त गरे ।