काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको संख्या देशमा घट्दै जानु सुखद नरहेको बताएका छन् ।
शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासंघको स्थापना दिवसका अवसरमा आयोजित ‘राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशाला २०८०’ को समापन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले युवाले खोजिरहेको कुरा बुझ्न आवश्यक रहेको बताए ।
‘युवाले पार्टी र देशबाट के खोजिरहेको ? यो बुझ्न जरुरी छ । उनीहरू देशमै नरहनु राम्रो संकेत होइन । युवालाई कांग्रेसमा कसरी आकर्षित गर्ने विषयमा महासंघले समेत भूमिका खेल्नु जरुरी छ’, उनले भने । उनले पछिल्लो समय पार्टी जनतासँग टाढा भएको र सहर केन्द्रित भएको स्वीकार्दै पुरानो बाटोमा पुनः यात्रा गर्न सुझाव दिए ।
नेता कोइरालाले सांस्कृतिककर्मीलाई पार्टीले चिन्न नसकेको समेत स्वीकार गरे । ‘कलाकारलाई चिन्ने र बुझ्ने गिरिजा बाबु हुनुहुन्थ्यो । अहिले चुनावको बेलामा सहयोग चाहिँदा मात्र सम्झिने गरेका छौँ’, उनले भने, ‘समयानुकूल परिमार्जित गर्दै महासंघलाई अगाडि बढाउनु जरुरी छ । यहाँ कांग्रेस नभएता पनि लोकतान्त्रिक विचार राख्ने कलाकर्मीलाई समेट्न अझै मेहनत गर्नुस् ।’
उनले आगामी निर्वाचनमा कांग्रेसले वडा तहबाट नै एक्लै लड्नु पर्ने विचार समेत राखे ।