मुम्बई इन्डियन्स आईपीएलको क्वालिफायरमा, फाइनल प्रवेशका लागि गुजरातसँग खेल्ने-Sutra News

मुम्बई इन्डियन्स आईपीएलको क्वालिफायरमा, फाइनल प्रवेशका लागि गुजरातसँग खेल्ने

बिहिबार, ११ जेष्ठ २०८०

बिहिबार, ११ जेष्ठ २०८०

काठमाडौं– मुम्बई इन्डियन्स १६औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को क्यालिफायरमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै मुम्बईले क्वालिफाइरको यात्रा तय गरेको हो।



पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। १८३ रनको विजयी लक्ष्य पछ्याएको लखनउले १६.३ ओभरमा अलआउट हुँदै १०१ रन मात्रै बनानउ सक्यो।

लखनउका लागि मार्कस स्टोयनिसले २७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४० रन बनाए। ओपनर कायल मेयर्सले १३ बलमा ३ चौकाको सहयोगमा १८ रन बनाए। यस्तै, दीपक हुड्डाले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोर अंक जोड्न सकेनन्।

लखनउलाई सस्तैमा समेट्ने क्रममा मुम्बईका आकाश माधवालले ५ विकेट लिए। ३.३ ओभर बलिङ गरेका उनले मात्र ५ रन खर्चिए। क्रिस जोर्डन र पीयुष चावलाले समान १–१ विकेट लिए। लखनउका तीन ब्याटर भने रन आउट भए।

पहिलो ब्याटिङ गरेको मुम्बईका लागि क्यामरन ग्रीनले सर्वाधिक ४१ रन बनाएका थिए। ओपनर तथा कप्तान रोहित शर्मा १० बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए। अर्का ओपनर ईशान किशनले १२ बलमा ३ चौका सहित १५ रन बनाए।

तेस्रो विकेटका लागि सूर्यकुमार यादवले ३३, तीलक वर्माले २६ र नेहाल वाधेराले २३ रन बनाए। टिम डेविडले १३ बलमा १ चौकाको सहयोगमा १३ रन बनाए।

लखनउका नविन उल हकले ४ विकेट लिए । यश ठाकुरले ३ तथा मोहसिन खानले १ विकेट लिए।

लखनउलाई पराजित गरेसँगै मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। लखनउ भने प्रतियोगिताबाट बाहिरिएको छ। अब फाइनल प्रवेशका लागि मुम्बईले गुजरात टाइटन्ससँग शुक्रबार खेल्ने छ।

गुजरात पहिलो क्वालिफायर खेलमा चेन्नेई सुपर किंग्ससँग पराजित भएको थियो। मुम्बई र गुजरातबीच हुने खेलको विजेता फाइनल पुग्नेछ। चेन्नई फाइनल प्रवेश गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट