सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छन् ।
गणतन्त्र दिवस, २०८० का अवसरमा राष्ट्रिय समाचार समितिले भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको आज उद्घाटन गर्दै गणतन्त्रमा केही कमीकमजोरी भए पनि पछाडि फर्किन नसकिने बताइन् ।
“अब पछाडि फर्किंने कुरा हुन सक्दैन, गणतन्त्र आएपछि भ्रष्टाचारलगायत विभिन्न विकृति आएको छ, गणतन्त्रभन्दा हिजोकै ठीक भन्ने विचार पनि आउन सक्छ, तर विषय त्यस्तो होइन, गणतन्त्रको विकल्प गणतन्त्रभित्रै सम्भव छ”, उनले भनिन् ।
वर्तमान शासकीय व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्दै मुख्य उपलब्धिलाई संस्थागत गर्नुको विकल्प नहुने मन्त्री शर्माको भनाइ छ । सरकारका प्रवक्ता शर्माले भनिन्, “गणतन्त्र दिवस मनाउने अवस्थामा हामी कसरी आइपुग्यौँ ?, २००७ सालदेखि यहाँसम्म आइपुग्दा कस्ता–कस्ता आन्दोलन भए, के–कति त्याग, बलिदान भए यी सबै विभिन्न खालका सङ्घर्षलाई पनि हामीले भुल्नु हुँदैन ।”
गणतन्त्र सजिलै प्राप्त नभएको भन्दै उनले गणतन्त्र प्राप्तिअघि अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रता नभएको अवस्था सम्झिँदै अग्रजहरूले गणतन्त्रका निम्ति गरेको कठिन सङ्घर्ष बिर्सिन नहुनेमा जोड दिइन् ।
प्रवक्ता शर्माले गणतन्त्र प्राप्तिका निम्ति महिला, आदिवासी जनजाति, मधेसी, दलित र उत्पीडितलगायत सम्पूर्ण सीमान्तकृत समुदायले गरेको योगदानको कदर गरिन् । सरकारले यस पटकको गणतन्त्र दिवस विगतको भन्दा फरक ढङ्गले समीक्षासहित तीन दिनसम्म मनाउने योजना रहेको बताइन् ।