राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् ।
राष्ट्रपति पौडेलले जाउलाखेलमा बिहीबार अपराह्नमा आयोजित भोटोजात्रामा सहभागी भई भोटो जात्रा अवलोकन गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले जीवित देवी मानिने कुमारीको दर्शन पनि गरेका छन् ।
मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाए ।
भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरू सहभागी थिए । सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति थियो ।
गत वैशाख ११ गतेदेखि सुरू भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ ।