नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी ओली सरकारका पालामा पशुपतिमा सुनको जलहरी भनेर पित्तलको जलहरी लगाएर भन्दै प्रश्न उठाएका थिए । गत जेठ १० गतेको प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका थिए । एमाले अध्यक्ष केपी ओलीलाई निराधार आरोप लगाएको भन्दै शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमालेले उक्त आरोप संसदीय रेकर्डबाट हटाउनुपर्ने भन्दै संसद् अवरुद्ध पार्यो ।
सांसद दाहालले उठाएको विषय पहिलो भने होइन । यसअघि महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाएको थियो । महालेखा परीक्षकको कार्यालयले आफ्नो ५९औं प्रतिवेदन सार्वजनिक गर्दा जलहरी बनाएर बाँकी रहेको सो सुनको सबै परिमाण रिङ बनाउन प्रयोग भएको पुष्टि नभएको उल्लेख गरेको छ । महालेखाले हराएको सुन कति हो भन्ने यकिन गर्न सकेको छैन ।
महालेखा परीक्षकको प्रतिवेदनमा देखिएको छ,‘विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिङ्क १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ । निर्मित जलहरी, जलधारा, नाग, नाग मूर्ति सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ्ग बनाई जलहरीमा लगाएको उल्लेख छ । रिङ्ग बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रहेको छ ।’
जलहरी बनाएको ९६ किलो ८२२ ग्रामबारे महालेखाले केही नबोले पनि बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको भनेर पुष्टि हुने विवरण पेस नभएको उल्लेख गरेको हो । प्रतिवेदनअनुसार पशुपति विकास कोसले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन किनेको थियो भने जर्ति र जिङ्कसहित १०७ किलो ९२४ ग्राम पुगेको थियो ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ११ किलो सुन हिनामिना भएको भन्दै उजुरी परेको थियो । तत्कालीन बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको अख्तियारका प्रवक्ता भोला दाहालले शुत्रन्युजलाई बताए । अनुसन्धानकै क्रममा रहेको भन्दै उनले थप बोल्न चाहेनन् । अख्तियारका अनुसार पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव, पूर्वसदस्य सचिव, कार्यकारी निर्देशक र केही पदाधिकारीसँग बयान लिइसकेको छ ।
२०७७ साल माघ ७ गते पशुपतिमा संकल्प पूजा गर्न पुगेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले पशुपतिमा एक अर्ब रुपैयाँ बराबरको सुनको जलहरी लगाउने घोषणा गरेका थिए भने २०७७ फागुन १२ गते राष्ट्रपतिले जलहरीको उद्घाटन गरेकी थिइन् ।
पशुपतिको शिवलिंगमा चढाइने अर्घ, जल तथा पञ्चामृत खस्ने भागमा लगाइने धातुको पाता नै जलहरी हो । शिवलिंगमा चढाइने सबै तरल पदार्थ जलहरीबाट ब्रहृमनालमा पुग्छ । यसअघि चाँदीको जलहरी राखिएकोमा अहिले सुनको जलहरी राखिएको थियो ।