प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टुंगोमा पुगेको शान्ति प्रक्रिया र प्राप्त उपलब्धिलाई उल्ट्याउन कोसिस भइरहेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायको विषयलाई टुंगोमा पुग्न नदिँदै पुनः द्वन्द्व चर्काएर फाइदा लिन चाहने तत्त्वहरू सलबलाइरहेको दाबी गरे ।
१० वर्षे जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भएको बताउँदै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले अहिले सङ्क्रमणकालीन न्यायलाई अवरुद्ध पार्नका शक्ति र व्यक्ति दुवै लागिपरेको उल्लेख गरेका हुन् ।
विस्तृत शान्ति सम्झौताको घरेलु मोडेल जस्तै सङ्क्रमणकालीन न्यायलाई पनि छुट्टै घरेलु मोडलबाट पीडितलाई न्यायको अनुभूति र विश्वका लागि अनुकरणीय हुने गरी टुंगोमा पुग्नुपर्ने उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगलाई २३औँ वर्ष पार गरेको अवसरमा शुभकामना दिँदै आयोगको अन्तर्राष्ट्रिय वर्गीकरणमा घटुवा गर्ने परिस्थिति बनेकोमा सरकारले त्यस्तो छवि गिर्न नदिन सम्पूर्ण प्रयास गर्ने प्रतिबद्धता जनाए ।