नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सधै बदनाम गराउने खोजिएको आरोप लगाएका छन् ।
नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई दिइएको अनुशिक्षणमा उनले भने, ‘आज संसद् अवरुद्ध भइरहेको छ । अस्तिका दिनमा एक जना माओवादी सांसदले बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्यो भनेर बोले । त्यसै विषयमा पुष्टि हुने कुनै आधार छैन । त्यसैले संसद् अवरुद्ध हुनैपर्छ ।’
एमाले अध्यक्ष ओलीले त्यस्ता असत्य, आधारहीन र नागरिकलाई भ्रममा पार्ने कुरालाई पुष्टि गर्ने कुनै आधार नभएको बताएका हुन् । कुनै पनि भ्रष्टाचारको काण्डमा एमाले संलग्न नभएको दाबी गर्दै उनले सत्तारूढ दलहरूले मिलेर आरोप लगाइरहेको बताए ।
अध्यक्ष ओलीले सामाजिक मर्यादाको समेत ख्याल नगर्नेहरू सांसद भएको भन्दै आक्रोश व्यक्त गरे । उनले देशलाई लोकतान्त्रिक, विकसित, आधुनिक र समृद्ध बनाउने अभियानलाई आफ्नो पार्टीले सफल बनाउने दाबीसमेत गरे ।अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू नजिककालाई जबरजस्ती पोल्न लगाइएको जिकिर गरे ।