पशुपति क्षेत्र विकास कोषको हराएको भनिएको ३१ रोपनी जग्गा नखोजी पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीले भेटिएको जग्गाको मात्र हाल साबिक गराउने निर्णय गराएका छन्। उनले कोष सञ्चालक परिषद्को गत वर्षको चैत १२ मा बसेको बैठकबाट उक्त निर्णय गराएका हुन्।
मिति २०७९ चैत १२ गते बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले नापीको विवरणअनुसार ५०४-३-१-० देखिएको हुँदा सबै प्रकारका कैफियत हटाई हाल साबिक गरी पठाइदिन मालपोत कार्यालय चाबहिल काठमाडौंलाई कोषबाट पत्राचार गर्ने निर्णय गरेको छ।
निर्णय गरिएको माइन्युटमा कोष सञ्चालक परिषद्का अध्यक्ष तथा मन्त्री किराँती र सदस्यसचिव डाक्टर मिलन थापाले मात्रै हस्ताक्षर गरेका छन्, परिषद्का अन्य सदस्यहरूले हस्ताक्षर गरेका छैनन्।
विगतमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, जीवनराम श्रेष्ठसम्मले जग्गा पूर्ण गराएर मात्रै हाल साबिक गर्नुपर्ने अडान राख्दै आएका थिए। तर मन्त्री किराँतीले हतार हतार निर्णय गराउन सञ्चालक समितिका अन्य सदस्यलाई दबाब दिएको श्रोतको दाबी छ तर दबाब परे पनि अन्य सदस्यहरूले हस्ताक्षर गर्न नमानेको अवस्था छ।
यस बारेमा संसद्मा बोल्दै पूर्वपर्यटनमन्त्री प्रेमबहादुर आलेले पर्यटनमन्त्री किराँतीले हराएको जग्गा नै नखोजेको, जग्गा गायब गराउने मनसायमा हालसाबिक गरेको शंका गर्दै विरोध गरेका थिए।
उनले जग्गा खोजी नगर्नुको पछाडि किराँतीको मिलोमतो हुनसक्ने आशंका व्यक्त गरेका थिए। कोषको नाममा ५३५ रोपनी जग्गा भएको भएपनि मन्त्री किराँतीले ५३४ रोपनीको मात्र हालसाबिक गराउन खोजिरहेका छन्।
काम खोज्दै नेपाल वायुसेवा निगमको अनुगमन र निर्देशनमा निरन्तर देखिने किराँतीले परिषद्का अन्य सदस्य उनको निर्णयमा हस्ताक्षर गर्न नमान्नुले उनको कार्यप्रति शंका गर्नुपर्ने देखिएको छ।
पूर्वमन्त्री आलेले आफ्नो कार्यकालमा आफूले जग्गा खोज्ने प्रयास गरेको भएपनि पार्टीकै ठूला नेताले चुनाव हारिन्छ भन्दै खोज्न नदिएको बताएका थिए।
‘मन्त्रालयको जिम्मेवारीमा आएर कोषको जग्गा खोज्दा तत्कालीन सदस्यसचिवले हालका लागि ५३० रोपनी जग्गा हालसाबिक गर्नु परो भनेर भनेका थिए। जग्गाको विषय टुंगो लगाउनु परो। तर मैले हुँदैन भनेँ। जबसम्म ५३४ रोपनी जग्गा पूरापूर हुँदैन तबसम्म जग्गा हालसाबिक हुँदैन भनेर मैले रोकेको थिएँ। मैले गोठाटारका जग्गा अतिक्रमण गरेर बसेकाहरूलाई हटाउन डोजरसमेत व्यवस्था गरेको थिएँ। तर मेरै पार्टीका केही दुरदर्शी नेताहरूले अहिले चुनाव छ केही नगरौँ भने। मैले मानेँ। तर एउटा वडा पनि जितिएन। मन्त्रीले अहिले ३० रोपनी जग्गा नै छोडेर हालसाबिक गर्ने निर्णय गरेको सुनेका छौँ। यो कुनै पनि हालतमा मान्य हुँदैन’, संसदमा बोल्दै आले भनेका थिए।
जग्गा खोजी गर्न भन्दा नि हालसाबिक गर्नमा कोषका सदस्यसचिब डाक्टर मिलन थापाको विशेष जोडबल रहँदै आएको छ। थापाले रविन्द्र अधिकारीपछिका पर्यटन मन्त्री बनेकाहरु समक्ष हालसाबिक गर्नुपर्ने भन्दै सो विषयलाई पेस गर्दै आइरहेका छन्। उनको चासो हराएको जग्गामा देखिने गरेको छैन्।
हालसाबिक भनेको नापी भइसकेपछि पुरानो श्रेष्तालाई खारेज गरेर नयाँ नापी अनुसार कायम गर्नु हो। जग्गा हराउनुमा विशेषगरी दुई वटा कारणहरु देखिने गरेको छ। जग्गा कि सछधियारकोमा मिसिन गएर हराउँछ कि सँधियारले मिचेको अवस्थामा हराउँछ। यो भनेको साथमा जग्गाको लालपूर्जा हुने तर फिल्डमा जग्गा नभेटिने अवस्था हो।
यस्तै हालसाबिक गर्दा दुईवटा नियत देखिनेगर्छ। एउटा खराब नियत राखेर अतिक्रमण गर्नेसँगको मिलेमतोमा आर्थिक लाभ लिदैं अतिक्रमणकारीलाई जग्गा दिलाउन र अर्को भनेको भेटिएको मात्रै हालसाबिक गर्ने र बाँकी खोज्दै जाने हो।
चैत १२ गते बसेको बैठकले गरेको निर्णयको विवरण:
निर्णय नम्बर १.
क) नेपाल सरकार मन्त्रिपरिषद् (तत्कालीन श्री ५ को सरकार को मिति २०४७/१/५ को निर्णय बमोजिम पशुपति क्षेत्र विकास कोषको नाममा प्राप्त भएको काठमाडौ जिल्ला गोठाटार स्थित ५३५-३-०-० साविक जग्गाको सम्बन्धमा छलफल हुँदा कोषको नाममा रहेको सार्विक गोठाटार ३ (क) कित्ता नम्बर ५९ को क्षेत्रफल १९-४-०-० को ट्रायल चेकबाट क्षेत्रफल १५-०-०-० (७६२९.०६) वर्गमिटर भै हाल नापीमा वार्ड नम्बर ३ सिट नम्बर १०६९-१५ कित्ता नम्बर १ र २ को क्रमशः क्षेत्रफल २१७१.०५, ५०९०.६६ वर्गमिटर जम्मा क्षेत्रफल ७२६१.७१ वर्गमिटर भै ३६७.८९ वर्गमिटर घटी हुन गएको।
साविक गोठाटार ३(क) कित्ता नम्बर ८४ को क्षेत्रफल २०५-११-०-० को ट्रायल चेकबाट क्षेत्रफल १९५- ३-१-० (९९२८८.११ वर्गमिटर) भै हाल नापीमा गोठाटार ३ सिट नम्बर १०६९-१५, १०७०-११ कित्ता नम्बर १, २, ६५, ६४, र ३ को कमश क्षेत्रफल ३१९४८.१५, ८२९.१५, ३४६८५.००, २७९०.००, ३४४६९.०० जम्मा क्षेत्रफल १०४७२१.३ वर्गमिटर भई ५४३३.१९ वर्गमिटर बढी हुन आएको।
साविक गोठाटार ४(क) कित्ता नम्बर ८० को क्षेत्रफल ३१०-४-०-० को ट्रयल चेकवाट क्षेत्रफल २९६- २-२-३ (१५०६४३ वर्गमिटर। नयाँ नापी अनुसार गोठाटार ४ सिट नंबर १०७०-०६, ११, १२, १७, १८, र २२ कित्ता नम्बर ७, १५, २६, ३, ४, २, १, २, ३, ४, १र१ क्रमशः क्षेत्रफल ३३०.००, ३६७७७९८, ९५५.१८, १२६.२०, २०९.३५, ३०४५.१६, ५९३९०.००, ४७५.७५, ६२१३.००, १०४१.९०, १६८३६.००, १९१२५.०० वर्गमिटर जम्मा क्षेत्रफल १४४५२५.५ वर्गमिटर. मै ६११७.४८ घटी क्षेत्रफल हुन गएको।
माथि उल्लेखित साविकका कित्तांहरू भिडी नयाँ नापीमा कायम भएका उल्लेखित जग्गाहरू कोषका तत्कालिन परिषद् सदस्य भगवति प्रसाद देवको संयोजकत्वमा गठित कार्यटोलीले मिति २०७८ साउन २९ मा दिएको प्रतिवेदन बमोजिम नापीको विवरण अनुसार क्षेत्रफल ५०४-३-१-० देखिएको हुँदा सबै प्रकारका कैफियत हटाई हालसाबिक गरी पठाई दिन मालपोत कार्यालय चावहिल काठमाडौं कोषबाट पत्राचार गर्ने।
ख) साविक गोठाटार ३(क) कित्ता नम्बर ९९ तर्फ कित्ताकाट भई तेज विनायक उच्च माध्यामिक विद्यालयका नाममा कायम हुनु पर्नेमा कोषको साविक गोठाटार (क) कित्ता नम्बर ८४ तर्फ भिडाई कित्ता काट भई तेज विनायक उच्च माध्यामिक विद्यालयका नाममा कायम हुन गएको गोठाटार (क) कित्ता नम्बर ६४ को क्षेत्रफल २७९० वर्गमिटर कोषको स्वीकृति बेगर एकतर्फि रुपमा कित्ता काट गरी कोषको जग्गा उक्त विद्यालयमा गएको देखिएको हुँदा उक्त कित्ता संशोधन गरी कोषको नाममा साविक बमोजिम कायम गरिदिन मालपोत कार्यालय चावहिलमा पत्राचार गर्ने।
ग) नेपाल सरकार मन्त्रिपरिषद् (तत्कालीन श्री ५ को सरकार) को मिति २०४७/१/५ को निर्णय बमोजिम पशुपति क्षेत्र विकास कोषको नाममा प्राप्त भएको काठमाडौं जिल्ला गोठाटार स्थित ५३५-३-०-० साविक जना मध्ये मालपोत कार्यालय चावहिलबाट चलानी नम्बर ४०९२ मिति २०७७ /१०/२ मा साविक भन्दा हाल अप्रत्यासित रुपमा जग्गा घटी देखिएकोले ट्रायल चेक सहित हालसाबिक विवरण खुलाई पठाई दिनु हुन मनी पत्राचार भएको नापी कार्यालय चावहिलबाट ५ नम्बर १६४८ मिति २०७०/११/१८ मा ट्रायल चेक सहित हालसाबिक विवरण मालपोत कार्यालय चावहिलमा पेश भएको हुँदा नयाँ नापी विवरण अनुसार कुल ५०४-३-१-० देखिएको हुँदा उक्त जग्गा हालसाबिक कायम गर्ने र नपुग जग्गाका सम्बन्ध कोषको नाममा हालसाबिक हुनुपर्ने जग्गा खोजविन गरी प्रतिवेदन दिन पशुपति क्षेत्र विकास कोषका सदस्य-सचिवको संयोजकत्वमा देहाय अनुसारको कार्यटोली गठन गर्ने निर्णय गरियो।