खेतबारीमा लगाएको अन्नपात र फलफूल बाँदरले सखाप पारेपछि धादिङका किसान आन्दोलित भएका छन् । वर्षभरि खाने अन्नपात फल लाग्ने बेला बाँदरले बर्सेनि नाश बनाउने क्रम झन् बढ्न थालेको किसानले बताएका छन् ।
बाँदरले नष्ट पारेको मकैको बोटसहित शुक्रबार धादिङको नीलकण्ठ नगरपालिका–९ निगाल पानी आसपासका किसानले सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेका छन् । मकैको बोटको माला बनाएर घाँटीमा झुन्डाउँदै प्रदर्शनमा उत्रिएका किसानले कृषि मन्त्रीको राजीनामा माग गरेका छन् ।
विगत वर्षदेखि नै बाँदर नियन्त्रणको लागि माग गर्नै आए पनि कुनै पनि सरकारले बेवास्ता गरेको उनीहरूको भनाइ छ । बर्सेनि खेतबारीमा लगाएको अन्न र फलफूल बाँदरले नष्ट पारिदिएपछि किसान चिन्तित भएका हुन् ।
अहिले मकैमा चमरा लाग्ने बेला भएको छ । निगाल पानी आसपासका किसानले लगाएको मकैमा बाँदरको रजाइँ छ । “दुःख गर्यो, मल हाल्यो खेती गर्यो, हुर्कायो । आउला खाउँला, छाक टारौला भन्यो बर्सेनि बाँदरले सखाप बनाउँछ”, किसान देवीप्रसाद रिजाल भन्छन्, “हाम्रो समस्यालाई सरकारले ध्यान दिएन, कि बाँदर नियन्त्रण गरियोस् कि हाम्रो खानेकुराको व्यवस्थापन सरकारले गरिदियोस् ।”
बाँदरले मकै नाश गरेको मकैको बोटकै माला लगाएर किसान सदरमुकाम धादिङबेशीमा रहेका सरकारी कार्यालयको गेट गेटमै नारा लगाउँदै हिँडेका हुन् ।