नागढुङ्गा सुरुङ मार्गबाट कहिले गुड्छन् गाडी ?-Sutra News

नागढुङ्गा सुरुङ मार्गबाट कहिले गुड्छन् गाडी ?

शुक्रबार, १२ जेष्ठ २०८०

शुक्रबार, १२ जेष्ठ २०८०

राजधानी काठमाडौं छिर्ने नाका नागढुङ्गा सुरुङ मार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ ।



कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो । अहिले सुरुङ मार्ग निर्माणले तीव्रता पाए पनि टनेल जोड्ने काम भने अझै नसकिएको नागढुङ्गा सुरुङ मार्ग आयोजनाले जनाएको छ ।

नेपालको यातायात पूर्वाधारमा सुरुङ मार्गको युगमा प्रवेश गराउने उक्त टनेलबाट कहिले गाडी कुदाउन पाइएला र सुरुङ मार्गको मजा लिन कहिले पाइएला भन्ने आम नागरिकको चाहना छ ।

बहुप्रतिक्षित उक्त सुरुङ मार्गको दुई टनेलमध्ये मुख्य टनेल ६०० मिटर सुरुङ मार्गमा जोडिन बाँकी छ भने सहायक अर्थात् ‘रेस्क्यु’ टनेल २१० मिटर जोडिन बाँकी छ । पहिलो चरणमा २०० मिटर ‘ब्रेक थ्रु’ गर्ने र मुख्य टनेल दसैँ आसपासमा ‘ब्रेक थ्रु’ गर्ने गरी काम अगाडि बढाइएको नागढुङ्गा सुरुङ मार्ग आयोजनाका कन्सल्ट्यान्टका इञ्जिनियर रमेश कोइरालाले जानकारी दिए । उनका अनुसार सिस्ने खोलाबाट सुरु भएको उक्त सुरुङ मार्गको लम्बाइ दुई हजार ६८० मिटर छ ।

“सिस्ने खोलाको प्रवेश विन्दुबाट ९१ मिटर माथि निस्किन्छ । टनेल सिधा नभएर थोरै कर्प (घुमाएर) बनाइएको छ । यहाँ दुई वटा टनेल निर्माण भइरहेका छन् । एउटा गाडी सञ्चालनका लागि बनाइएको हो”, इञ्जिनियर कोइरालाले भने ।

सात ठाउँमा दुई टनेलको जडान गरिने इञ्जिनियर कोइरालाले जानकारी दिए । उनका अनुसार मुख्य टनेलको चौडाइ सामान्यतया साँढे नौ मिटर र कुनै कुनै ठाउँमा १३ मिटरसम्मको हुन्छ । रेस्क्यु (इभयाकुएस) टनेल साढे चार मिटरको रहने उनको भनाइ थियो ।

इञ्जिनियर कोइरालाले टनेलबाहेक यस ठाउँमा आउने रोड सर्भ स्टेशन (मुख्य तल्लो प्रवेश विन्दु)मा चार लेनको सडक टनेलमा प्रवेश गर्ने बताए । सिस्ने खोलाबाट प्रवेश गरेका यातायातका साधन माथि निस्किएपछि बलम्बुस्थित मुख्य मार्गमा नै मिसिने गरी सडक निर्माण भइरहेको उनले जानकारी दिए । “त्यसलाई ‘एप्रोच रोड’ भनिन्छ । यसको लम्बाइ साढे दुई  किलोमिटरको हुन्छ”, इञ्जिनियर कोइरालाले भने । टनेल निर्माणका क्रममा निस्किएका निर्माण सामग्री प्रयोग गरेर रोड बनाइरहेकाले टनेलसँगै रोडको काम पनि सँगै सम्पन्न हुने उनको भनाइ थियो ।

‘एप्रोच रोड’ र टनेल निर्माणका क्रममा आउने मुख्य समस्या तल्लो प्रवेशविन्दु नजिकको पहिरो भएको भन्दै इञ्जिनियर कोइरालाले पहिरो नियन्त्रणका लागि काम भइरहेको उल्लेख गरे । उनले सावधानीपूर्वक समन्वयात्मक रूपमा समस्या समाधान गरी काम अघि बढाइएको बताए ।

यस्तो छ प्रगति 

निर्माण भइरहेका र निर्माण कम्पनीलाई भुक्तानी दिइएका कामको प्रगति हेर्दा हालसम्म करिब ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । मुख्य टनेल खन्ने काम धेरै गाह्रो भएकाले मुख्य टनेल खन्ने काम सकिएपछि धेरै काम सकिने बताइएको छ । टनेल खन्ने काम मात्रै चाहिँ ८३ प्रतिशत सकिएको नागढुङ्गा सडक आयोजनाले जनाएको छ ।

“टनेल जोडिएपछि भने अन्य काम छिटो सकिन्छ । भित्र २४सै घण्टा लाइट र पावर चाहिन्छ । त्यसका लागि पनि काम गर्नुपर्छ । त्यसैले टनेल जोडिएपछि अन्य कामका लागि एक वर्षभन्दा बढी समय लाग्नेछ”, आयोजनाका कन्सल्टेन्ट इञ्जिनियर रमेश कोइरालाले भने । कोरोनाका कारण एक वर्ष समय थप भई आगामी अप्रिल २६ सम्मका लागि समय निर्धारण गरिएको छ ।

कहिलेदेखि सुरु भयो सुरुङ मार्ग निर्माण

नागढुङ्गा सुरुङ मार्ग आयोजनाको अध्ययन सन् २०१४ देखि सुरु भएको थियो । ‘डिटेल’ डिजाइन सन् २०१७ र २०१८ मा सम्पन्न भएको थियो भने सन् २०१९ देखि निर्माण सुरु भएको थियो । आयोजना निर्माणका लागि २२ अर्ब लाग्ने बताइएको छ । जम्मा खर्चमध्ये १६ अर्ब जापान सरकारको ऋण अनुदानबाट गरिने छ भने बाँकी नेपाल सरकारको लगानी रहनेछ । सन् २०१९ मा निर्माण सुरु भई ४२ महिनामा निर्माण सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट