प्रतिनिधिसभाको अवरोध हटाउन बसेको प्रमुख तीन दलका शिर्ष नेताको बैठकमा जलहरी प्रकरणमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको अभिव्यक्ति हटाउने सहमति भएसँगै संसदको अवरोध हट्ने भएको छ ।
शुक्रबारको संसद बैठकमा एमाले सांसदहरूले जलहरी प्रकरणमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीलाई जोडेको भन्दै संसद अवरुद्ध पारेका थिए । शनिबार बिहान सिंहदरबारमा बसेका तीन दलका शिर्ष नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने र सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको जनाइएको छ ।
छलफलमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले प्रमुख सचेतक पदम गिरी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालगायत उपस्थित थिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री ओली यसमा नजोडिने स्पष्ट पारेको एमालेका सचेतक पदम गिरीले जानकारी दिए ।
तीन दलबीच सहमति भएसँगै एमालेले संसद्मा अवरोध नगर्ने बताएको छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।