काठमाडौं- लियोनल मेसीले कीर्तिमानी गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार राति स्ट्रासबर्गसँग १–१ को बराबरी खेलेको छ । यससँगै पीएसजीले कीर्तिमानी ११औँ पटक फ्रेन्च लिग वानको उपाधि जित्न सफल भएको छ ।
मेसीले ५९औँ मिनेटमा काइलियन एमबाप्पेको पासमा गरेको गोलबाट पीएसजीले अग्रता लिएको थियो । युरोपियन शीर्ष पाँच लिगमा मेसीको यो ४९६औँ गोल हो । यससँगै मेसीले क्रिष्टियानो रोनाल्डोको नाममा रहेको ४९५ गोलको कीर्तिमान तोडेका हुन् । पीएसजीबाट मेसीको यो ३२औँ गोल हो । मेसीले यसै सिजनको अन्त्यसँगै पीएसजी छाड्ने सम्भावना प्रवल छ ।
७९औँ मिनेटमा घरेलु टोली स्ट्रासबर्गका केभिन गामेरियोले बराबरी गोल फर्काए । तर, पीएसजीलाई उपाधि पक्का गर्न एक अंक यथेष्ट थियो ।
लिगमा अझै एक खेल बाँकी छ । तर, पीएसजीले दोस्रो स्थानको लेन्ससँग चार अंकको अग्रता लिइसकेको छ । अन्तिम खेलमा पीएसजी पराजित भएर लेन्सले जिते पनि पीएसजी एक अंकले अगाडि हुन्छ । त्यसकारण पीएसजीले उपाधि पक्का गरेको हो ।
यससँगै पीएसजीले फ्रेन्च लिग वानमा सबैभन्दा धेरै ११औँ पटक लिग उपाधि जित्न सफल भएको छ । मार्से र सेन्ट इटिनेले समान १० पटक लिग उपाधि जितेका छन् । पछिल्लो ११ वर्षमा पीएसजीको यो नवौँ लिग उपाधि हो ।