उपेन्द्र यादवसहित गौर हत्याकाण्डका अभियुक्तविरुद्ध सर्वाेच्चमा मुद्दा हाल्ने तयारी-Sutra News

उपेन्द्र यादवसहित गौर हत्याकाण्डका अभियुक्तविरुद्ध सर्वाेच्चमा मुद्दा हाल्ने तयारी

आइतबार, १४ जेष्ठ २०८०

आइतबार, १४ जेष्ठ २०८०
adalat

काठमाडौँ- गौर हत्याकाण्डका दोषीलाई कारबाही माग गर्दै पीडित परिवारले आज (आइतबार) सर्वाेच्च अदालतमा मुद्दा हाल्ने तयारी गरेका छन्।



उक्त हत्याकाण्डमा मारिएका रौतहट बौद्धिमाई नगरपालिका–८ का नर्मदेश्वर उपाध्यायकी पत्नी रूपसागरदेवीले आफूसमेत पीडित परिवारका पाँच जनाले न्यायको माग गर्दै आज सर्वाेच्च अदालतमा निवेदन दिन लागिएको जानकारी दिइन्।

घटना भएको १७ वर्षसम्म पनि न्याय पाउन नसकेपछि मुद्दा दर्ताको तयारी गरेको उनको भनाइ छ। यसअघि पनि पीडितहरूले सडक आन्दोलन गरेका थिए। तर सरकारले नसुनेपछि अदालत जान लागेको उनी बताउँछिन्।

तत्कालीन मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादवसहित घटनाका ‘दोषी’विरुद्ध कारबाहीको माग गरी सर्वाेच्चमा मुद्दा हाल्न लागिएको रूपसागरदेवीले बताइन्।

त्यसो त हाल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवदेखि बबन सिंहसम्म १ सय १३ जनाविरूद्ध राैतहट प्रहरीमा कर्तव्य ज्यान मुद्दा दर्ता छ। जसलाई प्रहरीले फरारको सूचीमा राखेको छ।

‘तर अहिलेसम्म कारबाही भएन, उपेन्द्र यादव खुला रूपमा हिँडिरहेका छन्’, रूपसागरदेवीले दुखेसो गरिन्। रूपसागरदेवीका अनुसार मुद्दा हाल्न विभिन्न जिल्लाबाट चारजना पीडित काठमाडौं आएका छन्। उनीसमेत पाँचजनाले आज सर्वाेच्चमा निवेदन दिने भएका हुन्।

२०६३ चैत ७ गते रौतहटको गौर नगरपालिकास्थित राइस मिल मैदानमा एकै स्थानमा तत्कालीन नेकपा माओवादी र तत्कालीन फोरमले सभा गर्न लाग्दा झडप भएको थियो। जसमा परी २७ जना वाईसीएल कार्यकर्ताको मृत्यु भएको थियो भने ५३ जना गम्भीर घाइते भएका थिए।

मृतकमध्ये रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका एक/एक जना छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट