पशुपतिनाथको ३२ रोपनी जग्गा अपचलनलाई वैधता दिएको सार्वजनिक भएपछि झुटो प्रचार गरिएको दाबी गर्दै सामाजिक सञ्जाल मार्फत खण्डन गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती मिडियामा प्रतिक्रिया दिन भने पन्छिएका छन् ।
आइतबार बिहानैदेखि मन्त्री किराँतीले पशुपति क्षेत्र विकास कोष मातहतको ३२ रोपनी जग्गा हालसाविक गर्दा मन्त्रीकै संलग्नतामा चलखेल गरेको आशयका समाचार सार्वजनिक भएपछि प्रतिक्रिया लिन सुत्र न्युजले गरेको पटकपटकको प्रयास सफल हुन सकेन ।
मन्त्री किराँतीको सचिवालयका सदस्य हेमन्त राईसँग यसबारेमा थप बुझ्न खोज्दा उनले प्रेस संयोजक राजन राईलाई सम्पर्क गरे पनि प्रेस संयोजक राई मोबाइल बन्द गरेर बसेका छन् ।
मिडियामा प्रतिक्रिया दिनबाट पन्छिएका मन्त्री किराँतीले ‘आफूले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेको’ भन्दै सामाजिक सञ्जालमा लेख्न भने भ्याएका छन् ।
‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला । प्रमाणित गर म एक मिनेट बस्दिनँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।