एउटै विद्यालयमा ४५ बालबालिका र ७० जना आमाहरू पढ्दै-Sutra News

एउटै विद्यालयमा ४५ बालबालिका र ७० जना आमाहरू पढ्दै

आइतबार, १४ जेष्ठ २०८०

आइतबार, १४ जेष्ठ २०८०

सोलुखुम्बुको महाकुलुङ-३ छेम्सीकी ६६ वर्षीया कमलमनि कुलुङले आफ्नो नाम हेर्न जानेकी छन् । त्यस्तै ६१ वर्षीया हिरासुख कुलुङ पनि आफ्नो नाम लेख्न सक्ने भइसकेकी छन् । यो समाचार पढ्नेका लागि प्रगति सामान्य हुन सक्छ । अथवा पौढशिक्षामा सहभागी भइसकेकाहरूका लागि सामान्य हो । तर कमल र हिरासुखका लागि यो नसोचिएको प्रगति हो । किनभने करिब २ महिना अघिसम्म उनीहरूले छोराछोरी र नातिनातिनालाई मात्र पढ्न पठाउँथे ।



छोराछोरीलाई स्कुल पठाउने आमाहरू अहिले आफैं देनाम आधारभूत विद्यालय जान्छन् अनि पढ्न बस्छन् । एक/दुई जना आमाहरूमात्र नभई विद्यालयमा रहेका विद्यार्थीको संख्याभन्दा झण्डै दुई गुणा आमाहरू पढ्नकै लागि स्कुल जाने गरेका छन् । विद्यालयका शिक्षक विवश मान कुलुङ भन्छन्,‘विद्यालयमा विद्यार्थीको संख्या ४५ जना हो भने अहिले पढ्न आउने आमाहरूको संख्या ७० जना जति छ ।’

देनाम आधारभूत विद्यालयका अनुसार आइतबारदेखि-शुक्रबारसम्म अरू विद्यालयमा जस्तै विद्यार्थीहरू पढ्छन् । अरू विद्यालय शनिबार बन्द हुन्छ तर देनाम आधारभूत विद्यालयले आमाहरूलाई पढाउँछन् । ६ दिन विद्यार्थी र एकदिन निरक्षर आमाहरूलाई पढाउन थालेको ६ हप्ता भएको छ । विद्यालयका अनुसार ६ हप्तायता उक्त विद्यालयका शिक्षकहरू ६ दिन छात्रछात्रालाई पढाउँछन् भने एक दिन आमाहरूलाई पढाउँछन् । यसरी पहिलो पटक पढ्नकै लागि स्कुल जान पाएका आमाहरू उत्साहित भएका विद्यालयले जनाएको छ । आमाहरूको पढाइका लागि विवशमा र हेमन कुलुङलाई विद्यालयले खटाएको छ ।

हप्तामा एक दिनमात्र पढ्न पाउने आमाहरूले छोटो समयमै आफ्नो नाम लेख्न र पढ्न सक्ने भएको विद्यालयका शिक्षक कुलुङ बताउँछन् । ‘आमाहरूको उत्साहकै कारण १/२ जनाबाहेकले नाम लेख्न सक्छन् । हप्ताको हिसाबले ६ हप्ता भनिए पनि जम्मा ६ दिन पढ्नु भएका छन् । यो धेरै राम्रो उपलब्धि हो ।’ शिक्षक कुलुङले भने ।

६ महिनासम्म चल्ने यो अवसर भने हिमालयन ड्रिम्स फाउन्डेसन नेपालले मिलाएको हो । फाउन्डेसनका डाइरेक्टर पासाङ रिन्जी शेर्पा र सहयोगी दाता स्वीजरल्याण्डका जेनिन मेलर्डले उक्त कार्यमा सहकार्य गरिरहेका छन् । देनाम आधारभूत विद्यालयलाई हिमालयन ड्रिम्स फाउन्डेसनले लामो समयदेखि सहयोग गर्दै आइरहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट