नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै सिंहदरबारको दक्षिण मूल ढोकाअघि प्रदर्शन
गरिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर, तीन तहको सरकार : सुशासन, पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर, लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरूप आचरण गर भन्ने आह्वानसहित मानवअधिकार तथा शान्ति समाजको आह्वानमा प्रदर्शन गरिएको हो ।
लोकतान्त्रिक गणतन्त्र पुनर्स्थापना योगदान गरेको संस्था शान्ति समाजले १६औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा काठमाडौं प्रदर्शन गरेको हो । प्रदर्शनबाट प्रहरीले १७ जना अधिकारकर्मीलाई गिरफ्तार गरेको छ ।
प्रदर्शन प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवा अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याल, अधिकारकर्मीहरू चन्द्रमणि बञ्जारा, नम्रता खरेल, किरण ढकाल, दिवाकर पुडासैनी, बलबहादुर गाहा मगर, उमा गौतम, भगवान् पुडासैनी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, विकास थापा, रमेशकुमार बराल, चन्द्रमणि गौतम, रीता अधिकारीसहित १७ जनालाई गिरफ्तार गरेको हो ।
गिरफ्तार अधिकारकर्मीलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ । प्रदर्शनमा भ्रष्टाचार हटाऊ : लोकतन्त्र बचाऊ, शीर्ष नेताको सम्पत्ति छानबिन गर, नक्कली शरणार्थी प्रकरण : शीर्ष नेतामाथि छानबिन खोइ ?, शीर्ष नेता भ्रष्ट छन् : नेपाली जनता त्रस्त छन्, लेखिएका प्लेकार्ड सो अवसरमा प्रदर्शन गरिएको थियो ।
शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणको सूक्ष्म अध्ययन/अनुसन्धान गरी दोषी प्रमुख दलका शीर्ष नेतासहित जो कोही हुन् कानुनसम्मत कारबाही गर्न माग गर्दै जेठ १ गतेदेखि सुरु गरेको अभियानका क्रममा २२ जिल्लामा ५० वटा धर्ना एवं प्रदर्शन भइसकेको छ । यो प्रकरणमा संलग्नलाई उन्मुक्ति दिन गरिने कुनै पनि प्रयास र सौदाबाजीको शान्ति समाजले निन्दा गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्