अभिनेता दयाहाङ राई अहिलेका सफल नायक हुन् ।
जुन सिनेमामा उनी हात हाल्छन् लगभग ती सिनेमा सफल नै भएका छन् ।
२०७९ सालकै कुरा गर्ने हो भने पनि धेरै अपेक्षित सिनेमाहरु फल्प भएर गए तर दयाहाङ मात्र एक यस्ता नायक हुन् जसको लगभग सबै सिनेमा बक्स अफिसमा हिट भए।
वैशाख १ गतेबाट रिलिज भएको ‘जारी’ले अझैं पनि बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
यति बेला उनी एकपछि अर्को सिनेमामा लगातार काम गरिरहेका छन् ।
उनी सिनेमा ‘नाङ्गो गाउँ’ सकेर अहिले ‘दिमाग खराब’को छायाँकनमा छन् ।
यस्तैमा उनको मुख्य भूमिका रहेको सिनेमा ‘नीरफूल’ यहि जेठ २६ गते बाट प्रदर्शनमा आउँदैछ ।
दयाहाङको कामको व्यस्तता र सफलतालाई हेर्दा उनको हरेक सपना पूरा भएको जस्तो लाग्छ ।
तर दयाहाङले भने आफ्ना धेरै सपना हराएर गएका त कति योजना भत्किएर गएको भन्दै दुःख पोखेका छन् ।
उनले सिनेमा ‘नीरफुल’को प्रेस मिटमा यसो भनेका हुन् ।
फूलमान बलको निर्देशनमा बनेको यस चलचित्रमा भूकम्पलाई पनि समेटिएको छ । सिनेमामा भूकम्पकै कारणले दयाकी छोरी हराएकी छन् ।
यस्तोमा एक पत्रकारले २०७२ सालको भूकम्पमा के के गुमाउनु भयो भनेर प्रश्न गरेकी थिइन् ।
जसमा उनले धेरै बेर सोचेर प्राकृतिक हिसाबले धेरै चिज हराए होलान् तर मानसिक हिसाबले पनि धेरै सपनाहरु हराए होला भन्दै केही योजनाहरु टुटेर गए कति सपना हराएर गएको बताए।