सरकारको सिफारिसमा गणतन्त्र दिवसमा राष्ट्रपतिबाट रेशम चौधरीलाई आममाफी दिएपछि नेकपा एमालेले आपत्ति जनाएको छ ।
नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले सरकारको निर्णय स्वीकार्य नहुने भन्दै जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीको कैद माफीप्रति आपत्ति जनाएका छन् ।
आइतबार सङ्घीय संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले चौधरीलाई माफी दिँदा टिकापुर घटनाका पीडितलाई थप पीडा पुग्ने बताए । उनले भने, ‘सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत तीन वटै तहको अदालतले उहाँको बारेमा एक प्रकारको फैसला गरेको छ । भिक्टिमहरूलाई थप भिक्टिम बनाउने गरी, अदालतले गरेको आदेशको पूर्ण पाठ आएको छैन । हतारपतार सरकार टिकाउन लागि, सत्ता जोगाउनका लागि आममाफी दिइयो ।’
सचेतक बर्तौलाले हिंसात्मक घटनालाई राजनीतिक बनाएर गलत नजिर बसाउने काम नगर्न पनि सरकारलाई सचेत गराए । उनले थपे, ‘प्रत्येक हिंसात्मक घटनाहरूलाई पछि राजनीतिक दाउपेचको आधारबाट सत्ता लेनदेनसँग मिसाएर अघि बढ्ने जे खेतीपाती हुन खोजेको छ । यो किमार्थ राम्रो विषय होइन । यो स्वीकार गर्न सकिने विषय होइन।’