काठमाडौँ- टीकापुर हत्याकाण्डको आरोपमा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी आज रिहा हुँदैछन्।
सरकारको निर्णयअनुसार गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि उनी आज रिहा हुन लागेका हुन्। रेशम रिहा हुने भएपछि उनलाई स्वागत गर्न पार्टी कार्यकर्ताहरू सोमबार बिहानैदेखि दिल्लीबजार कारागारमा स्वागतका लागि पुगेका छन्।
रेशमलाई उनकी पत्नी समेत रहेकी भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले स्वागत गर्ने कार्यक्रम रहेको छ। बिहान ८ बजे रेशम रिहा हुने भनिएपनि अहिले मन्त्री गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन टुँडिखेलमा छिन्। उनी डिल्लीबजार कारागार पुगेपछि रेशम रिहा हुने उनीनिकट स्रोतले जनाएको छ।
रेशम रिहा भएपछि काठमाडौंमा कुनै औपचारिक र अनौपचारिक कार्यक्रम तय भएको छैन। उनी रिहा भएलगत्तै कार्यकर्ताको स्वागतपछि सोझै गृहजिल्ला कैलालीस्थित टीकापुर जाने कार्यक्रम रहेको उनीनिकट स्रोतले जनाएको छ। ‘सुरुमा कैलाली जाने र आमाबाट आशीर्वाद लिन खोज्नुभएको छ,’ उनीनिकट स्रोतले बतायो।
र कैलालीको जानकी गाँउपालिका– ७ जगतपुरमा स्थित रेशमको घरमा उनकी आमा सुल्फीदेवी लामो समययता रेशमको पर्खाइमा छिन्।
०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो।
उक्त घटनापछि रेशम भूमिगत भएका थिए। भूमिगत रहँदै उनले २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका थिए। प्रतिनिधिसभामा अत्यधिक बहुमतसहित निर्वाचित भएपछि रेशमले २०७४ फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरे। त्यसपछि सांसदको शपथ लिएका उनलाई पुन: कारागारमै लगिएको थियो भने उनलाई सांसदबाट निलम्बन समेत गरिएको थियो।
रेशमलाई जिल्ला अदालत, कैलालीले २०७५ फागुन २२ गते गरेको फैसला उच्च अदालत, दीपायलले २०७७ पुस १९ गते सदर गरी जन्मकैद र ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद हुने ठहर गरेको थियो।