नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आम माफी दिएर सरकारले बलमिच्याइँ गरेको बताएका छन् ।
सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले अहिले राजाको शासन नभएकाले कसैको हुकुम चल्न नहुने भन्दै सर्वोच्च अदालतको आदेशमाथि बलमिच्याइँ गरेर निर्णय गर्न नहुने बताएका हुन् ।
‘आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो’, उनले भने, ‘यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन । यो गणतन्त्र हो । गणतन्त्रमा केवल कानुन मात्रै चल्छ ।’
सर्वोच्च अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ कि हुँदैन भनेर कानुनले बन्दोबस्त गरेको बताउँदै थापाले बन्दोबस्त गरेभन्दा बाहिर कोही पनि जान नमिल्ने तर्क गरे ।
उनले भने, ‘नेपालको कानुनले कुनै पनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ की हुँदैन भनेर कानुनले बन्दोबस्त गरेको छ । त्यो कानुनको बन्दोबस्त भन्दा बाहिर कोही पनि जान पाइँदैन ।’
उनले थपे, ‘अदालतको पूर्णपाठ आएको छैन । हामी हतार हतार निर्णय गर्छौं भने त्यसको अर्थ के हो ? हामीले अदालतलाई हेप्यौ । हामीले बलमिच्याइँ गर्यौ । हामीले जे गरे पनि हुन्छ भन्ने सोच्यौ ।’
महामन्त्री थापाले नेपाली काँग्रेस सत्ता र सरकारमा लिप्त हुन थालेको भन्दै यस्ता गल्ती ठाउँमै सच्याउनुपर्ने बताए ।