सिनेमामा हिरोको पारिश्रमिक जहिले पनि बढी हुन्छ । त्यसैले त हिरोइनले नायक सरह पैसा नपाएको गुनासो गर्छन् । प्रियंका चोपडाले त हलिउडमा गएपछि यसबारे ठूलो स्वरमा कुरा पनि गरिन् ।
भनिन्छ बलिउडमा न मित्रता स्थायी हुन्छ न दुश्मनी नै ।
तर साथीजस्तै देखिने करण जोहर र करिना कपुरबीचको सम्बन्ध एक समय यस्तो भयो कि महिनौंसम्म उनीहरुबीच बोलचाल भएन ।
करणले नै आफू र करिनाबीच नौ महिनाभन्दा बढी समयसम्म बोलचाल नभएको बताएका हुन् । उनीहरु बीच बोलचाल नहुनुको कारण थियो-पैसा।
भएको के थियो भन्दा करणले एक सिनेमामा करिनालाई लिने प्रस्ताव गरे। करिनाले सो प्रस्तावलाई सहर्ष स्वीकार गरिन्। तर करिनाको एक मागले उनीहरुबिच सो सहकार्य टुट्यो र एकआपससँग गनीहरुको ९ महिनासम्म बोलचाल नै ठप्प भयो।
यशराज फिल्म्सको ‘मुझसे दोस्ती करोगे’ रिलिज भएको साता करणले करीनालाई फोन गरे। करणले करिनालाई ‘कल हो ना हो’ खेल्नका लागि सो फोन गरेका थिए। सो सिनेमालाई उनका सहायक निखिल आडवाणीले गर्न लागेका थिए।
तर करीनाले करणका सहायकलाई विश्वास गर्न नसकिने र गर्ने नै भएपनि। शाहरुख खान बराबरको पारिश्रमिक पाएपछि मात्र काम गर्ने पनि बताएकी थिइन् ।
यो सुनेर करण जोहर छक्क परे । उनले करीनालाई स्पष्टसँग भने, ‘माफ गर्नुहोस्।’
करणले करिनाको सो पारिश्रमिकको मागले आफूलाई चोट पुगेको आफ्नो आत्मकथामा उल्लेख गरेका छन्।
त्यसपछि उनले करिनाको सट्टा प्रीति जिन्टालाई सिनेमामा साइन गरे ।
यसबाट करण जोहर करिनासँग यति रिसाए कि दुईबीचको कुराकानी नै रोकियो । करिब एक वर्षसम्म दुवैले एकअर्कासँग कुरा गरेनन् । तर कयौं पटक उनीहरु सिनेमा पार्टीमा देखिएका छन् ।
तर करणले पुस्तकमा दुवैको यो कार्य निकै लाजमर्दो भएको स्वीकार गरेका छन् । पछि उनीहरुले त्यो कटुता विर्सेर फेरि बोल्न थाले।
उमेरका हिसाबले करिना करणभन्दा करिब ९–१० वर्ष कान्छी छिन्। प्रीतिलाई लिएर उनले सिनेमा सुरु गर्दा उनका पिता यश जोहरको स्वास्थ्य बिग्रिएको थियो । उनको न्यूयोर्कमा उपचार भइरहेको थियो । ‘कल हो ना हो’ नोभेम्बरमा रिलिज हुने तय भएको थियो।
सुटिङ अमेरिकामै भयो । सिनेमाको कामसँगै करणले पनि आफ्नो बुबाको हेरचाहमा पनि लागिरहेका थिए।
यसैबीच एक दिन करण जोहरलाई करीनाको फोन आयो र उनले भनिन्, ‘मैले यश अंकलको बारेमा सुनेको छु’ भन्दै कुरा गर्दागर्दै फोनमा नै करणसँग रुन थालिन् । सो फोनपछि उनीहरुबिचको असमझदारी हट्यो र उनीहरू पहिले जस्तै फेरी साथी बने।