बजेट पाएको ९ महिनासम्म ठेक्का नलागे रद्द-Sutra News

बजेट पाएको ९ महिनासम्म ठेक्का नलागे रद्द

सोमबार, १५ जेष्ठ २०८०

सोमबार, १५ जेष्ठ २०८०

सरकारले राष्ट्रिय गौरवका आयोजनाबाहेक अरु आयोजनामा तीन वर्षभन्दा बढी समयका लागि स्रोत सुनिश्चितता नदिने र स्रोत सहमति दिएको मितिले नौ महिनाभित्रमा काम सुरु नभए ठेक्का सम्झौता स्वतः रद्द गर्ने भएको छ । 



सरकारले आगामी आवको बजेट वक्तव्यमार्फत यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । त्यस्तै यसअघि स्रोत सहमति दिएर नौ महिना पूरा भई हालसम्म ठेक्का नलागेका तथा आगामी आवको बजेटमा विनियोजन प्रस्ताव नगरिएका आयोजनाको स्रोत सहमति खारेज गरिएको पनि अर्थमन्त्री डा प्रकाश शरण महतले बताए । 

स्रोत सहमति माग गरेको आवमा आयोजनाका लागि विनियोजित बजेटको अधिकतम चार गुणाभन्दा बढी नहुने गरी स्रोतको सहमति दिने गरी व्यवस्था मिलाइनेछ पनि बजेटमा उल्लेख छ ।

सार्वजनिक खरिद प्रक्रिया र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृतिको प्रक्रिया सहज बनाउने घोषणा पनि सरकारले गरेको छ । वातावरण प्रभाव मूल्याङ्कन लागि रीतपूर्वक आएका प्रस्ताव ३० दिनभित्रमा स्वीकृत गरिसक्ने व्यवस्था गरिने बजेटमा राखिएको छ । त्यस्तै, वातावरण प्रभाव मूल्याङ्कनको तुलनामा १० प्रतिशतभन्दा बढी रुख तलमाथि भएका पूरक इआइएका गर्नु नपर्ने व्यवस्था गरिने बजेटमा उल्लेख छ ।

खरिद प्रक्रियामा देखिएका समस्या समाधान गरी सार्वजनिक खरिदलाई पारदर्शी र प्रभावकारी बनाउन ऐन र नियमावलीमा परिमार्जन गरिने विषयमा पनि बजेटमा राखिएको छ ।

कातिक मसान्तसम्ममा ठेक्का अघि नबढेका आयोजना र कार्यक्रममा विनियोजन रकम रोक्का गर्न सकिने, आगामी आवको सुरुवाती तीन महिना अवधिमा रकमान्तर स्रोतान्तर नगरिने र सो अवधिमा कार्यक्रम संशोधन नगरिने पनि बजेटमा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट