नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वअर्थमन्त्री जनार्दन शर्मा पनि शंकाको घेरामा !-Sutra News

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वअर्थमन्त्री जनार्दन शर्मा पनि शंकाको घेरामा !

मंगलबार, १६ जेष्ठ २०८०

मंगलबार, १६ जेष्ठ २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा यतिबेला जिल्ला अदालत काठमाडौंमा धमाधम बयान चलिरहेको छ ।



मंगलबार पनि काठमाडौं जिल्ला अदालतमा आरोपितहरु सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान भैरहेको जिल्ला अदालत काठमाडौंलें जानकारी दिएको छ ।

यसअघि केशव दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंककुमार गुरुङको बयान लिइसकेको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतमा आरोपितहरुको बयान चलिरहँदा यो प्रकरणमा कुन तहका को-को व्यक्तिहरु तानिन्छन त्यो भने प्रष्ट भैसकेको छैन् । हिरासतमा रहेका आरोपितहरुले बयानमा उल्लेख गरेका सबैसँग बयान लिने हो भने थुप्रै उच्चपदस्थहरु तानिने सम्भावना छ ।

अहिलेसम्म यो घटनामा पूर्वमाओवादी पृष्ठभुमिका एमालेका नेताद्व्य टोपबहादुर रायमाझी र रामबहादुर थापा बादलको परिवार नै मुछिएको छ । भलै पूर्वगृहमन्त्री बादललाई बयान लिने अग्रसरता प्रहरीले लिएको छैन् ।

कांग्रेस र एमालेका उच्च तहका नेताहरु यो प्रकरणमा जोडिदा सत्ताको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रका नेताहरु यो प्रकरणमा आफूलाई चोखो ठानिरहेका छन् । तर, अप्रत्यक्ष नै सही यो प्रकरणमा पूर्वअर्थमन्त्री जनार्दन शर्माको समेत कनेक्सनको संकेत भेटिन थालेको हो ।

सानु भण्डारीकी श्रीमती अञ्जना रजक भण्डारी र पृश्वीबहादुर शाहको कनेक्सनले जनार्दन शर्मा पनि तानिने खतरा देखिएको हो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले शाहको बचाउमा दिलो ज्यान दिएर लागेका थिए । शाह अबैध बाटोबाट ४० करोड रुपैयाँ नेपाल भित्र्याउने खेलमा लागेका थिए ।

त्यो खेलमा नेपाल राष्ट्र बैंक अवरोध बनेको थियो । त्यो अवरोध बनेकै बेलामा शर्मा अर्थमन्त्री भएर सिंहदरबार छिरे । त्यसपछि मन्त्री शर्माले शाहको पैसा छुटाईदिन राष्ट्र बैंकलाई पत्र नै लेखे । त्यसले गर्दा शर्मा र शाहको कनेक्सन के हो ? भनेर खुबै प्रश्न उठेको थियो ।

उनीमाथि उठेका प्रश्नले थप आशंका चाहिँ त्यतिबेल झन् बलियो बनायो जतिबेला शर्माले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई हटाउने खेल सुरु भयो । त्यो खेलको एउटा कारण शाहको पैसा रिलिज नगर्नुसँग पनि जोडिएको थियो ।

शाह र शर्माको यति घनिष्ठताको सम्बन्ध थियो भने शाह र अञ्जना रजकको त्यस्तै सम्बन्ध रहेको थियो । अन्जना रजक र पृश्वीबहादुर शाहले एउटै कम्पनीमा लगानी गरेर काम गरेका थिए ।

४० करोड काण्डमा पक्राउ परेर अहिले पुर्पक्षका लागि जेलमा रहेका शाह र सानु भण्डारीकी श्रीमती अञ्जनाको एउटै कम्पनी थियो । त्यो प्रकरणमा अञ्जना पनि फरार सूचीमा रहेकी छिन् । अञ्जना भण्डारी र शाहले संयुक्त रुपमा वल्र्ड फस्ट होलिडे प्रालि कम्पनी चलाएका थिए ।

त्यही कम्पनीमार्फत अवैध रकम कारोबार गरेको आरोप लागेको छ । यो आरोपकै कारण अञ्जना प्रहरीको फरार सूचीमा छिन् र प्रहरीको सीआईबीले संगठित अपराधमा मुद्दा चलाएको छ । त्यसले गर्दा शर्मातिर पनि शंकाको सुई घुमेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट