प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी, आन्दोलन र नेतृत्वप्रति जनतामा आशा रहेको उल्लेख गर्दै सोही आशाको बलमा आफूहरु सरकारको नेतृत्वमा आएको बताएका छन् ।
प्रधानमन्त्री दाहालले जनताको पक्षमा काम गर्ने माओवादीबाट भ्रष्टाचार नियन्त्रण, सुशासन अभिवृद्धि र समृद्धि सम्भव भएको बताए । “अरुले गर्दा यो सम्भव हुने कुरा होइन । दृढ सङ्कल्पका साथ भ्रष्ट्राचारविरुद्धको आन्दोलन सुरु गरिएको हो । यो विद्यमान विकृति र विसङ्गतिका विरुद्धको आन्दोलन हो”, उनले भने ।
अनियमितता, भ्रष्टाचारसम्बन्धी अन्य फाइल पनि सरकारले क्रमशः खोतल्ने जानकारी दिँदै प्रधानमन्त्री दाहालले ठूलठूला भ्रष्टाचारका काण्डको खोजीनिती गरिने बताए ।
उनले भने, “यसले जनतामा अब केही हुन्छ भन्ने विश्वास जगाउँछ । हामीले वर्षौंदेखि थुप्रिएर बसेको विसङ्गति रातारात अन्त्य हुने कुरा पनि होइन ।”
प्रधानमन्त्री दाहालले विगतका अनुभवका आधारमा यस पटक सरकारको नेतृत्व भिन्न ढङ्गले सङ्कल्पका साथ लिएको बताए । उनले देशको अहिलेको आर्थिक स्थितिलाई सहजीकरण गर्ने र जनतामा सेवा प्रवाहलाई सरल गर्ने कार्यमा सरकार केन्द्रित भएको बताए ।
प्रतिक्रिया दिनुहोस्