कोशी प्रदेश सरकारले प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीलाई वार्तामा आउन आज आह्वान गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले आज प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका हुन् । वक्तव्यमा नामकरणको बारेमा रहेका आफ्ना विमतिलाई शान्तिपूर्ण राख्न अनुरोध गर्दै पूर्वघोषित विरोधका कार्यक्रमलाई स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई आह्वान गरेका छन् ।
नामकरणका विषय कुनै दल वा सरकारको भन्दा पनि सदस्यको आफ्नो प्रदेशको नामकरण आफैं गर्न पाउने अधिकारको प्रयोग गर्दै नेपालको संविधानको धारा २९५(२) अनुसार कोशी नामकरण रहन पुगेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका थिए ।