संकटमा कोशी प्रदेश !-Sutra News

संकटमा कोशी प्रदेश !

बुधबार, १७ जेष्ठ २०८०

बुधबार, १७ जेष्ठ २०८०

जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार संकटमा परेको छ ।



बजेट निर्माणको तयारीमा जुटिरहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेसँगै बहुमत जुटाउन कठिन हुने देखिएको छ । यद्यपि, कोशी सरकारमा स्वास्थ्यमन्त्री रहेकी जसपाकी निर्मला लिम्बुले राजीनामा भने दिएकी छैनन् ।

नामकरणमा असन्तुष्ट भएकाहरूको आन्दोलन चर्किरहेको बेला जसपा सरकारबाट बाहिरिएको हो । पहिचानको मुद्दा धेरै उठाउछु भन्ने माओवादी केन्द्रलाई पनि सरकार छाड्न दबाव छ । बजेट निर्माणकै आखिरीमा आएर कोशी सरकारमा अस्थिरताको जोखिम बढेको छ ।

यता कोशी प्रदेश मन्त्रालयको जिम्मेवारीमा समेत रहेका कांग्रेसका १४ जिल्ला सभापतिले कोशी प्रदेशको नाम पुनर्विचार गर्न माग गरेका छन् ।

प्रदेश १ का १४ जिल्लाका कांग्रेस सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै कोशी नाम पुनर्विचारका लागि पार्टी नेतृत्व र प्रदेशसभासँग विशेष आग्रह गरेका हुन् ।

प्रदेशसभाले कोशी नाम राखेपछि आन्दोलन भइरहेको भन्दै उनीहरूले भनेका छन्, ‘यो विरोधको सुनुवाइ नेपाली कांग्रेसको नेतृत्वले गर्नुपर्छ ।’

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । केन्द्रीय गठबन्धनको आधारमा सत्ता बनेमा दुवैतर्फ बहुमत नपुग्ने अर्को समस्या छ । नेकपा एमाले ४० सिट र राप्रपा ६ सिट एक ठाउँमा छन् भने अर्कोतर्फ कांग्रेस २९, माओवादी केन्द्रको १२, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ जना गरी ४६ सांसदनै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट