राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया राष्ट्र हितविपरीतको कार्य भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् । उनले लेखेका छन्, ‘नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रिक संसदीय मूल्य मान्यता र राष्ट्रहितविरुद्ध छ’, लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।
अघिल्लो संसदको दुवै सदनले पारित गरेर पठाएको नागरिक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी ‘होल्ड’मा राखेकी थिइन् । सोही विधेयक बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका हुन् ।