को हुन् प्रचण्डलाई भारतमा स्वागत गर्ने मिनाक्षी लेखी ?-Sutra News

को हुन् प्रचण्डलाई भारतमा स्वागत गर्ने मिनाक्षी लेखी ?

बुधबार, १७ जेष्ठ २०८०

बुधबार, १७ जेष्ठ २०८०

आफ्नो चार दिने भारत भ्रमणको सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत पुगेका छन्। मित्र राष्ट्रका पाहुना नेपाल आउँदा उनीहरुको स्वागतका लागि विमानस्थलमा पाहुनाका समकक्षी जाने गरेका छन्।



तर भारतमा प्रचण्डको स्वागतमा उनका समकक्षी अर्थात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुगेनन्। उनको सट्टामा मोदी सरकारले राज्यमन्त्रीलाई पठायो। यसबाट नेपालमा भारतले नेपाललाई त्यसमा पनि विशेषगरी प्रचण्डलाई महत्व नदिएको भन्दै आलोचना गरेका छन्।

प्रचण्डलाई स्वागत गर्न विमानस्थल पुगेकी मिनाक्षी लेखी भारत सरकार र भारतीय जनता पार्टीकी प्रभावशाली नेतृ मानिन्छिन्। लेखी मोदी सरकारकी केन्द्रिय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री हुन्। उनी यो जिम्मेवारीमा सन् २०२१ को ७ जुलाई देखि रहेकी छन्।

Image

नेपालमा भारतका शीर्ष नेताहरु परिचित भएपनि लेखीको नाम नेपालीका लागि नयाँ हो। उनलाई टेलिभिजन कार्यक्रमहरुमा भाजपा सरकारको बचाउमा पैरवी गर्दै गरेको देख्न सकिन्छ।

सन् २०१४ मा लोकसभाको लागि दिल्लीबाट पहिलोपटक निर्वाचित भएकी उनी अहिले लोकसभामा आफ्नो दोश्रो कार्यकाल बिताइरहेकी छन्। त्यसअघि उनी त्यहाँको सर्वोच्च अदालतको वकिल थिइन्।

त्यसैगरी पहिलोपटक लोकसभामा निर्वाचित भएर आएकी लेखीलाई सन् २०१६ मा लोक सभाको विशेषाधिकार कमिटीको अध्यक्षमा मनोनित गरिएको थियो भने सन् २०१९ मा उनलाई सार्वजनिक सरोकार कमिटीको अध्यक्ष चुनिएको थियो।

यसका अलावा उनको सक्रियता स्तम्भ लेखनमा समेत रहेको छ। उनले ‘द विक’मा पाक्षिकरुपमा स्तम्भ लेख्ने गरेकी छन्। उनलाई वाककला तथा बहसहरुमा निपूर्ण वक्ताका रुपमा समेत चिनिन्छ। लोकसभाका दर्जनौ बहसमा सक्रिय सहभागिता जनाएकी लेखीलाई ‘लोकमत’ले सन् २०१७ मा ‘उत्कृष्ट नवप्रवेशी महिला सासंद’को अवार्ड प्रदान गरेको थियो।

दुई सन्तानकी आमासमेत रहेकी लेखीका श्रीमान् अमन लेखी भारतको सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता हुन्। त्यस्तै उनका ससुरा प्रननाथ लेखी आफ्नो समयका चर्चित वकिल थिए।

भारतीय जनता पार्टी प्रवेश गरेको छोटो समयमा नै उच्च छलाङ् पार्न सफल नेतृमा पर्छिन् मिनाक्षी। उनी मोदीकी बलियो समर्थक मानिन्छिन्।

भाजपा प्रवेश छोटो समयमै सन् २०१० मा उनी पार्टीको महिला विभागको सह-अध्यक्षमा नियूक्त भएकी थिइन् भने सन् २०१३ मा उनलाई पार्टीको केन्द्रिय प्रवक्ता बनाइएको थियो।

Image

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट