काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भारत भ्रमणमा छन्। आज दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट हुँदैछ। भेटमा विभिन्न सम्झौता गर्ने तयारी छ। सन्धी सम्झौताअघि भेटेलगत्तै दाहालले मोदीलाई पशुपतिनाथको मन्दिरबाट लगिएको फूल , प्रसाद र चन्दन दिनेछन्। प्रचण्डले मोदीलाई पशुपतिको मूल मूर्ति पञ्चमुखीमा अर्पण गरिएको नेत्र, रुद्राक्षको माला, फूल, भेटी र नैवेद्य उपहार प्रदान गर्नेछन्।
कलात्मक चाँदीको बट्टाभित्र मखमलको कपडामा सजाइएको माला र प्रसाद उच्चस्तरीय भेटवार्ताका क्रममा प्रचण्डले मोदीलाई हस्तान्तरण गर्नेछन्। आज प्रचण्ड–मोदीबीच आज ‘वान अन् वान’ वार्ता हुँदै छ।
भारतीय उच्चपदस्थ आउँदा पशुपतिनाथको मन्दिर दर्शन गर्ने परम्परा छ। मोदी प्रधानमन्त्री भएपछि नेपाल आउँदा पनि उनले पशुपतिको दर्शन गरेका थिए। त्यसो त नेपालबाट भारत कोही उच्च पदस्थको भ्रमण हुँदा पनि पशुपतिनाथको मन्दिरको फूल चन्दन प्रसाद उपहार लैजाने चलन छ। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार यस्तो अभ्यास भारतीय प्रधानमन्त्री मोदीको पहिलो कार्यकाल (सन् २०१४)देखि हुँदै आएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पहिलो र दोस्रो कार्यकालको भारत भ्रमणका क्रममा पशुपतिको प्रसाद मोदी र अन्य विशिष्ट अधिकारीसमक्ष पुगेको कोषका पूर्व सदस्य–सचिव डा. गोविन्द टण्डन बताउँछन्। ‘मेरो स्मरणमा मोदी प्रधानमन्त्री भएयता नेपालका प्रधानमन्त्रीहरूले गर्ने औपचारिक भ्रमणमा पशुपतिको प्रसाद लाने गरिन्छ,’ उनले भने, ‘मोदीकै इच्छाअनुसार प्रसाद लाने क्रम परराष्ट्र मन्त्रालयको पहलमा सुरु भएको हो।’
परराष्ट्रमन्त्रीले गर्ने भारत भ्रमणका क्रममा पनि पशुपतिको प्रसाद भारत लाने गरिन्छ। तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाली समकक्षीबाट पशुपतिको चन्दन र प्रसाद नियमित रूपमै पाउने गर्थिन्।
नेपाल भ्रमणका क्रममा पूर्वराष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री मोदी, विदेशमन्त्रीहरू कंग्रेस आईका नेता राहुल गान्धी, अन्य राजनीतिज्ञ र कलाकारले पशुपतिमा विदेश पूजा गर्दै आएका छन्। ५ वर्षअघि नेपाल हुँदै कैलाश मानसरोवर यात्रामा निस्किएका गान्धीले पशुपति दर्शन गरेका थिए।
आफ्नो अघिल्लो कार्यकालमा कश्यप गोत्रका मोदीले पशुपतिमा विशेष पूजा गरेका थिए। मूल मन्दिर र पशुपति परिसरका वासुकी नारायण र आसपासका २५ वटा मठ–मन्दिरमा विशेष पूजा गरेका थिए । यसक्रममा मोदीले कोषलाई ३ करोड रुपैयाँ मूल्य बराबरको २ हजार ५०० केजीको श्रीखण्ड उपहार प्रदान गरेका थिए।
भारतीय उच्च अधिकारीहरूले नेपाल भ्रमणका क्रममा गर्ने पशुपति दर्शनले कूटनीतिक अल्झन तोड्न सघाउ पुर्याएको पूर्व सदस्यसचिव टण्डनको बुझाइ छ। मोदी हिन्दूधर्मप्रति निकै लगावशील छन्। भारतमा मोदीकै कारण धार्मिक द्वन्द्व पनि बेला बेला सिर्जना हुन थालेको छ।