राजस्व चुहावटको आरोपमा मुद्दा खेपिरहेका चूडामणि शर्मामाथि भ्रष्टाचार मुद्दा ठहर भएको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनलाई दोषी ठहर गरेको हो । गैरकानुनी सम्पत्ति आर्जनमा भने उनले सफाइ पाएका छन् ।
विशेष अदालततले २५ जेठमा सजाय निर्धारण गर्ने भएको छ । उनीविरुद्ध ८, १० वर्ष कैद हुन सक्ने बताइएको छ। उनीविरुद्ध भ्रष्टाचारका दुई मुद्दा थिए ।
११ असोज ०७८ मा राजस्व चुहावटको आरोप लागेका शर्मालाई विशेष अदाललते ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उनीविरुद्ध सदस्य सचिव रहेको समयमा विभिन्न व्यापारिक कम्पनीबाट असुल्नुपर्नेमा राजस्व मिनाह गरेर राज्यकोषमा हानी पुर्याएको आरोप लागेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असारमा शर्माले एक अर्ब ३३ लाख बीस हजार तीन सय पचासी रुपैयाँ कर छुट दिएर राज्यलाई हानी पुर्याएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।