हेटौँडा- मकवानपुरको कैलाश गाउँपालिकाले बाल विवाह रोक्नका लागि विवाह अगाडि १२ पास गरेको छात्रालाई २० हजार नगद हस्तान्तरण गरेको छ ।
गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै चेली प्रोत्साहन कार्यक्रमअन्तर्गत छ जना चेलीलाई सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकाको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमअन्तर्गत प्रोत्साहन र सम्मान गरेको बताए ।
उनका अनुसार कैलाश–६ की सङ्गीता ढुङ्गाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश–१० की सरुया प्रजा र उर्मिला थिङ, त्यसैगरी कैलाश–२ की लक्ष्मी मुक्तानलाई नगदसहित सम्मान गरिएको छ ।
गाउँपालिका अध्यक्ष मुक्तानले विवाहअघि कम्तीमा पनि १२ पास गरेको र २० वर्ष पूरा भएको हुनुपर्ने भन्ने सन्देश दिन प्रोत्साहन कार्यक्रम राखिएको बताए ।
देशभरका स्थानीय तहमध्ये पृथक कार्यक्रमको सुरुवात गरेको उनको भनाइ छ ।
‘गाउँघरमा छोरीलाई बालविवाह गर्ने, पढाइबाट वञ्चित गर्ने चलन अझै रहेको र यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने कुरामा विश्वास लिएका छौँ,’ अध्यक्ष मुक्तानले भने ।
सम्मानित छात्रा सरुया प्रजाले गाउँपालिकाले चेली प्रोत्साहन कार्यक्रममार्फत सम्मान गरेकोमा आफूलाई उत्साह मिलेको र सामाजिक समस्याको रूपमा रहेको बालविवाह, विद्यालय नजानेजस्ता समस्या समाधानमा लाग्न ऊर्जा मिलेको बताइन् ।
कैलाश–६ की सङ्गीता ढुङ्गानाले प्राप्त रकमले आगामी शिक्षाका लागि सहयोग पुग्ने कारण खुसी व्यक्त गरे । यस्ता कार्यक्रमले पढ्न मद्दत मिल्नुका साथै विवाह गर्नुभन्दा शिक्षा लिनु ठिक हुनेजस्तो लाग्ने गरेको उनको भनाइ छ ।