प्रचण्डले भने– दिल्लीमा मोदीसँग तीन पटक एक्लाएक्लै भेटपछि नेपाल-भारत सम्बन्धमा ‘ब्रेक थ्रु’ भयो-Sutra News

प्रचण्डले भने– दिल्लीमा मोदीसँग तीन पटक एक्लाएक्लै भेटपछि नेपाल-भारत सम्बन्धमा ‘ब्रेक थ्रु’ भयो

शुक्रबार, १९ जेष्ठ २०८०

शुक्रबार, १९ जेष्ठ २०८०

काठमाडौँ- भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन पटक एक्लाएक्लै भेटवार्ता भएपछि नेपाल–भारत सम्बन्धमा ‘ब्रेक थ्रु’ भएको बताएका छन्।



बिहीबार नेपाल र भारतबीच दुई पक्षीय औपचारिक वार्ताको आसपास प्रधानमन्त्री प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो।

‘तीन पटक मोदीजीसँग एक्लाएक्लै भेटवार्ता भएपछि बिग्रिन लागेको परिस्थिति धेरै सहज भयो,’ प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान नेपाली सञ्चारकर्मीसँग होटल मौर्यमा भने, ‘त्यसपछि मोदीजीले नेपाल–भारत सम्बन्ध हिटबाट सुपरहिट तर्फ जाने र हिमालयकै उचाइमा पुर्याउने कुरा गर्नु भयो।’

प्रचण्डले मोदीसँगको त्यो ‘वान अन वान’ वार्तामा नै नेपालबाट भारतले १० हजार मेगावाट जलविद्युत किन्ने सहमति भएको खुलाए।

‘नेपालका लागि त्यो नै हो ब्रेक थ्रु,’ प्रचण्डले भने।

भारत भ्रमणको तेस्रो दिन शुक्रबार दिल्लीबाट मध्यप्रदेशको धार्मिक सहर उज्जैन उड्नुअघि होटल आइसीटी मौर्यको ‘ओबामा स्वीट’ मा प्रधानमन्त्री  यस्तो बताए-

मेरो यो चौथो भ्रमण ‘अफिसिल’ हो। पहिलाका भ्रमणहरु बरु ‘स्टेट भिजिट’ थिए। तर यो पटक भारतीय सञ्चारमाध्यमले पनि मेरो भ्रमणलाई प्रमुखताका साथ स्थान दिएका छन्। यस्तो पहिलाका कुनै पनि प्रधानमन्त्रीहरुका भ्रमणमा भएको थिएन। यो पटक अलि बढी नै महत्व दिएको त प्रष्ट रुपमा देखियो नै।

हामीले भारतसँग पहिलादेखि जोड दिएको विषय भनेको जलविद्युतको व्यापार नै थियो। नेपालसँग भएको स्रोत भनेकै जलविद्युत हो। त्यसलाई सही रुपमा मार्केटिङ गर्न सक्दा मात्र हामीले भारतसँगको व्यापार घाटामा सन्तुलन कायम गर्न सक्ने र देशको समृद्धिमा टेवा पुग्ने हुन्छ। त्यसैले भारतसँग कसरी लङटर्म विद्युत व्यापार गर्ने भन्ने सोच ममा थियो। हामीमा समस्या पनि यसमा नै थियो र अहिले ‘ब्रेक थ्रु’ भएको पनि यसैमा हो। बंगलादेश, भारत र नेपालको बीचमा उर्जा व्यापार सम्बन्धी त्रिपक्षीय रुपमा नै सम्झौता भइसकेको जस्तै अवस्था छ। यो पनि निकै ठूलो कुरा हो। हवाइ रुट अनुमतिको कुरा हाम्रो लागि अलि ठूलो र महत्वपूर्ण थियो। नेपालगञ्जबाट ‘लो अल्टिच्युट’ को रुट दिने त सहमति भयो तर हामीलाई ‘हाइ अल्टिच्युट’ को र महेन्द्रनगरबाट हुँदा सबैभन्दा राम्रो हुन्छ भन्ने कुरा राखिएको छ। त्यसमा उनीहरुले हामी ‘पोजेटिभ’ छौँ भनेका छन्। त्यसैले त्यतापटि पनि यो सानो भएपनि ‘ब्रेक थ्रु’ नै हो।

सीमा समस्या अर्को हाम्रो मुख्य कुरा थियो। हिजो मेरो प्रधानमन्त्री मोदीजीसँग कुरा भइसकेपछि अब यसलाई गम्भिर रुपमा लिएर हल गरौं भन्नुभएको छ। संयुक्त प्रेस मिटमा पनि उहाँले सीमा समस्या हल गरिन्छ भनेर बोल्नु भयो।

अहिलेसम्म मोदीजीले आफैले आफ्नो मुखबाट सीमाको समस्या हल गर्ने भनेर कहिल्यै पनि भन्नु भएको थिएन। त्यसैले यो पटकको भ्रमणमा यसलाई पनि अर्को ‘ब्रेक थ्रु’ नै हो भन्ने लागेको छ मलाई। त्यतिमात्र होइन, पेट्रोलियम पाइपलाइन, संयुक्त चेकजाँच चौकी, रेलमार्गजस्ता विषयहरु जसरी सहमतिमा पुगियो। यी सबै सकारात्मक उपलब्धी हुन्। यसले नेपालको आर्थिक गतिविधि बढाउन सहयोगी हुने खालको नै छन्। समग्रमा भन्नुपर्दा भ्रमणमा सबैको आँखा त परेकै थियो। हिजो बिहानबाट वातवरण विस्तारै सकरात्मक बन्दै गयो। हैदरावाद हाउसमा जति समझदारी र सहमति भए, जुन परिणाम आयो त्यसले भ्रमण सफल भयो। मेरै मुखबाट अहिले नै धेरै भन्नु राम्रो हुन्न जस्तो लाग्छ। तर जे परिणाम आयो, त्यो सुखद छ। धेरै राम्रो कुराको सुरुवात भएको छ। तर अहिले नै सबैथोक भइहाल्यो भन्ने पनि होइन। तर यो भ्रमणबाट धेरै ठूलो कुराको सुरुवात भयो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट