सुटुक्क रवि र बालेन पनि भारतमा, ८४ को चुनावको तयारी !-Sutra News

सुटुक्क रवि र बालेन पनि भारतमा, ८४ को चुनावको तयारी !

शुक्रबार, १९ जेष्ठ २०८०

शुक्रबार, १९ जेष्ठ २०८०

तपाईलाई पक्कै थाहा भइसकेको छ, अहिले नेपालका तीन विशेष नेताहरु भारतमा नै छन् । पहिलो पुष्पकमल दाहाल प्रचण्ड । उनी नेपालको प्रधानमन्त्री भए पछि पहिलो औपचारिक विदेश भ्रमणकारुपमा भारतको दिल्लीमा छन् । भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँगको छलफलमा ७ बुदे सहमति पनि सार्वजनिक गरिसकेका छन् । त्यस्तै, प्रचण्डले भारतीय राष्ट्रपतिसँग पनि शिष्टाचार भेट गरिसकेका छन् ।



प्रचण्डबाहेक अन्य दुई नेताहरु पनि भारतमा नै छन् । ति हुन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाण्डौँका मेयर बालेन शाह । तीनै जना एकै समयमा भारतमा पुग्नुले नेपालको राजनीतिक वृतमा भने फरक किसिमको शंका र तरंग उब्जिएको छ ।

नक्सामा हेर्ने हो भने काठमाण्डौँ दिल्लीको दुरी १००० किलोमिटर भन्दा केहि बढि छ । मुम्बइको २००० किलोमिटर लगभग र बैङ्लौर २३०० किलोमिटर आसपासको दुरीमा छ । तीन नेताहरु रहेको स्थानहरु एकापसमा दिल्लीबाट मुम्बइ १४०० किलोमिटर, दिल्लीबाट बैङ्लौर २००० किलोमिटर र मुम्बइबाट बैङ्लौर १००० किलोमिटर ।

काठमाण्डौँभित्र केहि किलोमिटरभित्र एकआपसको निवास र कार्यालय रहदा पनि भेटघाट नगरेका नेताहरु भारत पुगेर हजार हजार किलोमिटर टाढा रहदा पनि किन नेपालमा तरंग उठिरहेको छ ?

यसका केहि कारणहरु छन् :

१. एकै समयमा भारतमा पुग्नु :

यो संयोगमात्रै पनि हुन सक्छ तर तीन नेताहरु एकै समयमा समय निकालेर भारत पुग्नुलाई केवल संयोग मात्रै मान्न सकिने आधारहरु पनि कम नै छन् । नेपाली राजनीतिमा उहि समयमा फरक फरक नेताहरु फरक फरक कारण देखाउँदै भारत पुग्ने, छलफल गर्ने र सहमतिको प्रयास गर्ने तरिका नयाँ होइन । माओवादी विद्रोहको समयमा नेपाली कांग्रेस, एमालेका नेताहरु मात्र होइनन्, राजाका नजिकका मानिसहरु पनि उपचारको बहाना बनाउँदै भारत पुग्थे र छलफल गर्थे ।

अहिले त्यस्तो समय छैन तर पनि नेताहरुको पुरानो चरित्र नफेरिएको अवस्थामा नयाँ भनिएका नेताहरु पनि त्यहि तरिका अपनाउँदै गएका हुन् कि भन्ने शंकाले ठाउँ पाएको छ ।

२. प्रचण्डको थाहा छ, रवि र बालेन किन पुगे भन्ने थाहा छैन :

रवि लामिछानेले जेठ १७ देखि ६ दिनसम्म मुम्बइमा रहने भएकाले कार्यवाहक जिम्मेवारी पार्टीका अरु नेतालाई दिएर गएका छन् । बालेनले आफु नआउन्जेलका लागि भनेर उपमेयरलाई कार्यवाहक जिम्मेवारी दिएर गएका छन् । तर रवि र बालेन किन भारत गएका हुन् ? यसबारेमा भने कुनै पनि जानकारी सार्वजनिक गरेका छैनन् । दुवैले आफ्नो व्यक्तिगत काम भनेर केहि पत्रकारहरुलाई भनेको तथा बालेनले पिचएडी गर्नका लागि कागजात लिन आफु पढेको कलेज गएको भनेर निकटस्थहरुलाई बताएको कुरा सार्वजनिक भएका छन् । त्यस्तै गर्भवति रहेकी पत्नीको उपचारका लागि पनि बैङ्लौर गएको भन्ने समाचारहरु सार्वजनिक भएका छन् ।

तर दुवै नेताबाट सार्वजनिकरुपमा केहि पनि नभनेको कारण मानिसहरुलाई रवि र बालेन भारत गएर भेटघाट गर्ने बारेमा अनुमान गर्दै आएका छन् ।

२०८४ को तयारी हो कि ?

राष्ट्रिय स्वतन्त्र पार्टीलाई अहिले प्राप्त भएको २१ सिटले कानुन निर्माणमा पनि हस्तक्षेप गर्न पुग्दो भएको छैन । उसलाई ८४ को चुनावमा बहुमत ल्याएर सरकार बनाउन र कानुन निर्माण गर्न हुटहुटी छ । त्यसका लागि उसले कार्यक्रम तथा अभियान सुरु गरिसकेको छ ।

बालेनले प्रस्टरुपमा ८४ को चुनावमा वा त्यो भन्दा अगाडि हुने स्थानीय चुनावमा के गर्छन् भन्ने बारेमा केहि पनि बताएका छैनन् । त्यस्तै उनले नयाँ पार्टी खोल्ने बारेमा हल्ला छ तर त्यसका लागि उनले कुनै पनि अभियान सञ्चालन गरेको देखिएको छैन ।

यस्तोमा बालेनलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा ल्याउन सक्नु भने रास्वपालाई ८४ को चुनावमा बहुमत प्राप्त गर्न सायदै कसैले रोक्न सक्छ । यसैले रवि जसरी पनि बालेनलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा ल्याउन चाहन्छन् ।

यहि कारण नेपालमा नभेटेर भारतमा भेटेका हुन् कि भनेर मानिसहरुले अनुमान गरेका छन् । तर दुइ नेताहरु मिल्नु पर्ने तर्क गर्नेहरु पनि भारतमा भेट्ने चलनका भने आलोचक रहेका देखिन्छन् ।

भिडियोमा पनि हेर्नुस् 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट