राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भारतबाट नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार भएको भन्दै विरोध प्रदर्शन गरेको छ ।
लैनचौरस्थित नेपालका लागि भारतीय दूतावास अगाडि शुक्रबार प्रदर्शन गरेको संगठन संयोजक सुजित केसीले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा रहेकै बेला उनीहरूले विरोध प्रदर्शन गर्नुका साथै ‘अखण्ड भारत’को नक्साको जलाएका हुन् ।
भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख गरेर भारतले नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार गरेको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको उनले बताए ।
सोही क्रममा ‘अखण्ड भारत’नक्सासमेत जलाएको संयोजक केसीले जानकारी दिए । यसअघि संगठनले विज्ञप्तिमार्फत सो नक्सा सच्याउन माग गरेको थियो भने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्रसमेत बुझाएको थियो । तर, भारतले सो नक्सा नसच्याएपछि आन्दोलनमा उत्रिनुपरेको संयोजक केसीले बताए ।