चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालनमा ल्याइएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा स्थापना गरिएको सचिवालयको कार्यालय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बूले सचिवालय स्थापनापछि तयारीले थप तीव्रता पाउने बताउँदै सम्बन्धित सबैले नेपालको सहभागिता उपलब्धिमूलक बनाउन जिम्मेवार भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले आगामी आर्थिक वर्षको बजेटमा पनि एसियाली खेलकुदको बजेट सम्बोधन हुनु सुखद पक्ष भएको बताउँदै खेलकुद मन्त्रीज्यूले पनि एसियाली खेलकुदलाई विशेष प्राथमिकता दिनु भएको बताए ।
सदस्य–सचिव घिसिङको संयोजकत्वमा १० सदस्यीय १९औं एसियाली खेलकुद सचिवालय गठन भएको छ ।