अस्पताललाई स्वास्थ्यमन्त्रीको निर्देशन : कूल शय्याको १० प्रतिशत गरिबका लागि छुट्याउनू-Sutra News

अस्पताललाई स्वास्थ्यमन्त्रीको निर्देशन : कूल शय्याको १० प्रतिशत गरिबका लागि छुट्याउनू

शुक्रबार, १९ जेष्ठ २०८०

शुक्रबार, १९ जेष्ठ २०८०

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताललाई कूल शय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।



आज गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत अस्पतालको अनुगमनका क्रममा उनले कूल शय्याको १० प्रतिशत गरिब, असाहय, विपन्न बिरामीलाई निःशुल्क उपचार सेवाको व्यवस्था गर्न निर्देशन दिए । “सरकारले सबै सरकारी, निजी अस्पताललाई स्वीकृति दिँदा कूल शय्याको १० प्रतिशत निःशुल्क उपचार व्यवस्था गर्नुपर्दछ भनेर सम्झौता गरेको हुन्छ”, उनले भने, “हाम्रो सूचनामा धेरै अस्पतालले कार्यान्वयन गरेका छैनन् । सबै अस्पतालसँग एक वर्षमा को–को, कस्ता बिरामीको कसका सिफारिसमा १० प्रतिशत निःशुल्क उपचार गर्नुभयो । त्यो तथ्याङ्क हामी माग्दछौँ ।”

उनले १० प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पताललाई कानूनअनुसार कारबाही गर्ने बताए । “जुन जुन अस्पतालले १० प्रतिशत निःशुल्क उपचारको व्यवस्था गरेको छैन । ती अस्पताललाई कानूनअनुसार कारबाही गर्दछौं”, उनले भने, “जनताले पाउने त्यो अधिकार दिलाएर नै छाड्छौं ।”

मन्त्रालयले पनि अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याई उपचार गर्न दुई पटक निर्देशन दिँदै पत्राचार गरिसकेको छ । मन्त्री बस्नेतले ठूला मानिस मन्त्री, सांसदले भनेपछि अस्पतालमा शय्या पाउने परम्परालाई तोड्दै विपन्न गरिब सबैले अस्पतालमा भनेको बेला शय्या पाउने बताए ।

बिरामीले उपचार गर्दा शय्या नपाइने अवस्था रहेको भन्दै उनले अस्पतालमा रहेका शय्या सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटर कति खाली रहेको छ भन्ने कुरा वेबसाइटमा राख्न निर्देशन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट