अब बोलेर होइन कामबाट देखाउनुपर्ने बेला आएको छ : मन्त्री गुरुङ-Sutra News

अब बोलेर होइन कामबाट देखाउनुपर्ने बेला आएको छ : मन्त्री गुरुङ

शुक्रबार, १९ जेष्ठ २०८०

शुक्रबार, १९ जेष्ठ २०८०

नेपाली कांग्रेसका उपसभापति एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अबको बाटो सुशासनको भएको बताएका छन् । कांग्रेस प्रथम भीरकोट नगरसम्मेलनलाई आज स्याङ्जाको बयरघारीमा सम्बोधन गर्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।



“भ्रष्टाचारी प्रवृत्ति भएका जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ, कारबाही हुनैपर्छ”, उनले भने, “अनुसन्धानलाई अझै प्रभावकारी ढङ्गले अगाडि बढाऔँ, दोषी कोही उम्किन नपाउन् ।” भुटानी शरणार्थीलगायत फाइलमा आफूहरुले प्रधानमन्त्रीलाई साथ दिएको दाबी गर्दै उनले यस अभियानलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए ।

“भ्रष्टाचार प्रवृत्तिको अन्त्य गर्दै देशलाई अब सुशासनको बाटोमा लैजानु आवश्यक छ”, उनले भने, “देशमा सुशासन भएको प्रत्याभूति जनतालाई दिनुपर्ने भएकाले अब बोलेर हैन कामबाट देखाउनुपर्ने बेला आएको छ ।”

नागरिकता विधेयकले आमाको नामबाट नागरिकता नपाएका, बाबु आमा नेपाली नागरिक भएर पनि छोराछोरीले नागरिकता नपाएका र गैर आवासीय नेपालीले नेपालको नागरिकता पाउने तर राजनीतिक नेतृत्व गर्न नपाउने गरी तीनवटा कुरा समेटिएको उनले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य राजु थापाले भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारवाही गर्नुपर्ने बताए । उनले भ्रष्टाचारको आरोप लागेका कसैलाई पनि कांग्रेसले नबोक्ने र दोषी ठहरिएमा कारवाही भएरै छाड्ने बताए । भ्रष्टाचारीलाई कांग्रेसले ढाकछोप गर्ने, बोक्ने होईन बरु अनुसन्धान प्रक्रियामा सघाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट