प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा सीमा समस्या समाधानका लागि गम्भीर कुराकानी भएको बताएका छन् ।
चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग सीमा समस्या समाधानका लागि भारत सरकारसमेत गम्भीर भएको दाबी गरेका हुन् ।
भारतीय प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमै सीमालगायतका थाती रहेका सबै समस्या समाधान गरिनेछ भनेर प्रस्ट पारेको भन्दै उनले भने, ‘भारतीय प्रधानमन्त्रीले लगायतका थाती रहेका सबै समस्या समाधान गरिनेछ भन्ने भावना स्पष्ट ढंगले व्यक्त गर्नु भएको छ । धेरै समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धमा आएको यो सकारात्मक अभिव्यक्तिबाट हामी उत्साहित भएका छौं । ’
गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा ऊर्जा व्यापार सम्झौतालगायत विभिन्न सम्झौता तथा समझदारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले प्रतिनिधिमण्डल स्तर र वान अन वान पनि भेटवार्ता गरेका थिए ।